Logo

कोशी

हिन्दु परिषदको चेतावनी : अपराधीलाई कारवाही नगरे अवस्था भयावह हुन्छ


२३ चैत्र २०८०, शुक्रबार  

184
Shares

विराटनगर । सुनसरीको भुटाह क्षेत्रमा हिन्दु र मुस्लिम समुदायका युवाहरुविच भएको झडपलाई लिएर विश्व हिन्दु परिषद नेपालले आपत्ति जनाएको छ । भुटाहामा हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेको घटनाप्रति परिषदले ध्यानाकर्षण भएको समेत जनाएको छ ।

कुटपिटका क्रममा घाइते भएका जीवन मेहता धरानमा उपचाररत छन् । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले घटनाको विरोधमा बिहानैबाट प्रदर्शन चर्काएका थिए । प्रदर्शन नियन्त्रणमा लिन सुनसरी प्रहरीले अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर गरिसकेको छ । साथै निषेधाज्ञा समेत जारी गरेको छ ।

सोही घटनालाई लिएर हिन्दु परिषदले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिति २०८० चैत २२ गते सुनसरीको हरिनगर गाउँपालिका स्थित रामनगर भुटाहामा एक हिन्दू युवालाई लक्षित गरी इस्लामिक नारा लगाउँदै सामुहिकरुपमा गरिएको साँघातिक आक्रमणको घटनाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

एसईई परीक्षा दिन रामनगर भुटाहास्थित बालकृष्ण उच्च माध्यमिक विद्यालय आएकी बहिनीलाई लिनआएका हरिनगर गाउँपालिका- ३ घर भएका जिवन मेहतालाई निर्घात कुटपिट गम्भीर घाईते बनाईएको छ । योजनाबद्ध रुपमा घटाईको उक्त घटनामा घर बनाउन प्रयोग गरिने छड्, बाँसको भाटा, पाईप, हेल्मेट आदिले ज्यानमार्ने गरी कुटपिट गरिएको भिडियोमा सहजै हेर्न सकिन्छ ।

कुटपिट भईरहँदा परीक्षा केन्द्रमा सुरक्षाको लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले कुनै प्रकारको कदम नचालेको कारण भिड्ले उग्र रुप लिदै मेहतालाई निर्घात कुटपिट गरिएको हो । विद्यालय अगाडीबाट कुटपिट गर्न सुरु गरेको भिड्ले मेहतालाई घिसार्दै बजारमा लग्दासमेत प्रहरी प्रसाशनले आवश्यक कदम नचाल्नु एवं हालसम्म घटनामा संलग्न जिहादी अपराधीहरुलाई नियन्त्रण नगरिनुले प्रशासनको आचरणमाथि समेत प्रश्नवाचक चिन्ह खडा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रशासनद्वारा घटनामा संलग्न अपराधीलाई कारवाही नगरी हिन्दू समाजको प्रतिक्रियालाई दबाउने प्रयास गरिए अवस्था भयावह हुने परिषदले चेतावनी दिएको छ । ‘घटनाको संवेदनशीलतालाई मध्येनजर गर्दै घटनाका दोषीलाई यथाशीघ्र कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद् नेपाल जोडदार माग गर्दछ ।

सनातन हिन्दू धर्मलाई समाप्त पार्ने मनशायले हिन्दू विरोधी तत्वहरु सक्रिय रहेकाले यस्ता जिहादी तत्वहरुलाई निरुत्साहित गर्न सबैलाई संगठित भई अगाडी बढ्न विश्व हिन्दू परिषद नेपाल आग्रह गर्दछ साथै आपसी एकता कायम राख्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याउन दवाव सिर्जना गर्न प्रयास गर्न आवाहन समेत गर्दछ । घटनामा परी घाइते भएका जिवन मेहता र गोली लागि घाईते भएका युवाहरुको यथोचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउदै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ विश्व हिन्दु परिषद नेपालका महासचिब जितेन्द्रकुमार सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरिसकेको छ । शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो। सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : १३ बजे