Logo

अर्थ

राष्ट्रपति पौडेलसमक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन पेस गरेका छन । 

बुधबार गत आर्थिक वर्षको वार्षिक प्रतिवदन पेस गर्दै प्रधानमन्त्री दाहालले गत आर्थिक वर्षमा सरकार श्रमिकहरूको अधिकार संरक्षण र मिटरब्याज लगायतका सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले सफल रहेको दाबी गर्दै सुशासनका कयौं मानकहरू स्थापित गर्न सफल भएको बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताएका छन् । यसको कार्यान्वयनको लािग सरकारको तदारुकता आवश्यक रहेको पनि उनको भनाइ थियो ।

उपलब्ध स्रोत र बजेटको सदुपयोग गरि विकास निर्माण र सुशासन गर्ने सवालमा सधैं प्रयत्नशील रहेको हुनुपर्ने भनाइ उनले राखे ।

त्यस्तै, संविधान बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा भए गरेका काम र उपलब्धिसहितको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन ) ऐन बमोजिमको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले उपलब्ध स्रोत साधनको परिचालन गरी राज्यका निर्देशक सिद्धान्तद्वारा निर्देशित भई नीतिहरूको तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिए ।

राष्ट्रपति पौडेलले सरकारले संविधानको प्रस्तावनामा उल्लेखित मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई विशेष ध्यान दिई राज्य सञ्चालनमा लागू गर्दै जानु पर्ने आवश्यकता आंैल्याए ।

नेपालको संविधानको भाग–४ मा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वसम्बन्धी व्यवस्थाले राज्य व्यवस्था सञ्चालनका लागि मार्गनिर्देशन गर्नुका साथै राज्यको चरित्र, भावी दिशा एवं आर्थिक, सामाजिक रूपान्तरणका लक्ष्यहरू समेत निर्धारण गरेका छन् । यस्ता निर्देशक सिद्धान्त र नीतिहरूले नागरिकको लोकतान्त्रिक हक अधिकारको सार्थक उपभोग गर्न सक्ने आधारहरू समेत खडा गरेका  छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : १९ बजे