Logo

खेलकुद

कमलसिंह ऐरीको ह्याट्रिक, आयरल्यान्डले नेपाललाई दियो १५८ रनको लक्ष्य



काठमाडौँ । पहिलो एकदिवसीय क्रिकेटमा बुधबार भ्रमणकारी टोली आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई जितका लागि एक सय ५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्डले ३८.३ ओभरमा अलआउट हुनुअघि एक सय ५७ रनमात्र बनाउन सक्यो ।

आयरल्यान्डलाई सस्तोमा समेट्न नेपाली टोलीका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिए । उनले ६.३ ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए । कमल ३९ औँ ओभर बलिङ गर्न आएका थिए । २३ वर्षीय मध्यमतेज गतिका बलर कमलले ३९औँ ओभरको पहिलो बलमा आयरल्यान्डका लियाम म्याकार्थीलाई साहब आलमद्वारा क्याच गराएका थिए ।

त्यसपछि ३९ औँ ओभरको दोस्रो बलमा उनले आयरल्यान्डका म्याथ्यू हमफ्रेयसलाई बोल्ड गरेका थिए । त्यसलगत्तै अर्को बलमा कमलले आयरल्यान्डका बेन ह्वाइटलाई पनि बोल्ड गरेका थिए । साहब आलम र मौसम ढकाल पनि दुई–दुई विकेट हात पारेका थिए । रिजन ढकालले पनि आयरल्यान्डका एक ब्याट्सम्यानलाई पेभेलियन फर्काए ।

आयरल्यान्डका लागि केड कार्मिचलले अर्धशतकीय पाली खेले । चौथो नम्बरका ब्याट्सम्यान केडले टोलीको खातामा ५१ रन थपे । यस क्रममा उनले ७७ बलको सामना गरी चार चौका पनि हिर्काए । कप्तान निल रकले पनि टोलीको खातामा ३९ रन थपे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान निलले ३२ बलमा तीन छक्का र दुई चौका हिर्काए ।

आयरल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । ओपनर ब्याट्सम्यानद्वय जेम्स म्याककोलुम र स्टिफन डोहेनी भने १२–१२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान पिटर मुरले टोलीको खातामा २१ रन थपे । उनले ३४ बलमा एक छक्का र एक चौका प्रहार गरे । आयरल्यान्डले अतिरिक्त रुपमा पनि सात रन पाएको थियो ।

नेपाल र आयरल्यान्डबिच तीनवटा खेलको एकदिवसीय शृंखला खेलिने कार्यक्रम छ । यसअघि खेलिएको तीन खेलको टी–२० शृंखलामा भने आयरल्यान्ड ‘ए ’२–१ ले विजयी भएको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : ४९ बजे