Logo

मुख्य समाचार

महरा, मोर्चा र बाँसबारी



काठमाडौं । हिजो दिनभरीमा केही महत्वपूर्ण निर्णय र छलफल भएका छन् । शीर्ष नेतृत्ववीच छलफल, सरकारी सम्पत्तिको सुरक्षा, रिहाई र राजनीतिक मोर्चाबन्दी जस्ता बिषयले दिनभरी नै नेताहरुलाई व्यस्त राख्यो ।

महराको मुक्ति
नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा सुन तस्करी काण्डमा संलग्न भएको अभियोगमा गिरफ्तार भएको पाँचौं दिनमै रिहा गरिए । उनकै नेता पुष्पकमल दाहाल सरकारको नेतृत्वमा रहका बेला लुम्बिनीबाट गिरफ्तार गरेर काठमाडौं ल्याईएका महरा कानूनी अनुसन्धानको लागि थुनामा पठाईएका थिए । हिरासतमा लिईए लगत्तै उनलाई स्वास्थ्य परीक्षणका लागि भनेर वसन्त चौधरी स्वामित्वको नर्भिक अस्पतालमा भर्ना गरियो । साथै उनलाई स्वास्थ्य उपचार सँगसँगै कानूनी उपचारको पनि प्रवन्ध सुरु गरियो र अन्तत सरकारी वकिलले सुझाएको उपचार पध्दति अनुसार महरालाई हाजिरी जमानीमा रिहा गरियो । महराको रिहाईपछि कतिपयले सुनकाण्डमा नाम जोडिएका राजनीतिक व्यक्ति र परिवारलाई बिस्तारै सुनपानी छर्किने कार्यको शुभारम्भ भएको भनेर आलोचना गरेको पनि पाईयो । अनुसन्धानमा रहेका उच्च प्रहरी अधिकारीहरुको अदलीबदली र महराप्रतिको नरम व्यवहारले यस्तो आशंका जन्माएको स्पष्ट छ ।

चौधरीको रहने बाँसबारी
कुनैबेला चीनले निर्माण गरिदिएको बाँसबारी छालाजुत्ता कारखानाको अधिनमा रहेको जग्गामा अस्पष्ट आधारबिना व्यापारिक घराना चौधरी ग्रूपको दावी रहेको भनेर चर्किएको विवादको एककिसिमले समाधान भएको छ । चौधरी परिवारका तिनै दाजुभाईलाई पालैपालो बयानमा बोलाईसकेपछि आज मन्त्री परिषदले बाँसबारीको विवादास्पद १० रोपनी जग्गा सरकारको नाममा ल्याएको जानकारी दिएको छ । विवादमा रहेको जग्गा सरकारले आफ्नो अधिनमा ल्याईसकेपछि अब त्यसबारे चलिरहेको अनुसन्धानले कस्तो रुप लिने हो त्यो भने स्पष्ट भैसकेको छैन ।

समाजवादी मोर्चा
माओवादी केन्द्रको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि वामपन्थी दलहरु मिलेर समाजवादी मोर्चा निर्माण गर्ने भनेर अभियान चलेको छ । पछिल्लो पटक प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहालले पूर्व माओवादी र अन्य वामपन्थी दलहरु एकतावध्द हुनुपर्ने तर्क गर्दै आएका थिए । उनको यस्तो धारणा आएपछि माओवादीबाट अलग भएका नेत्रबिक्रम चन्द विप्लव पनि समाजवादी मोर्चा गठनको लागि सक्रिय देखिएका छन् । विप्लवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यही बिषयमा छलफल पनि गरिसकेका छन् ।

मानेनन् ओली
एमाले अध्यक्ष ओलीले भने मोर्चामा आफ्नो पार्टी सम्मिलित नहुने स्पष्ट पारिसकेका छन् । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दीर्घजीवन हुननसकेको अनुभव सँगालेका ओलीले धेरैवटा वामपन्थी दलहरुसँगको मोर्चाको भविष्य नदेखेर नकारात्मक प्रतिक्रिया दिएको बुझ्न सकिन्छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीवीच आज भएको छलफल पनि मोर्चा निर्माणसँग सम्बन्धित रहेको बताईएको छ । तर गठबन्धन सरकारको बारेमा परामर्श भनिए पनि मूल बिषय मोर्चा नै रहेको जानकार सूत्रले बताएको छ ।

निर्वाचन सरकार कसको
हालै पाँच दलीय सत्ता गठबन्धन गरेका माओवादी र एमालेका अध्यक्षहरु प्रतिनिधि सभाको कार्यकाल कसरी पूरा गर्न सकिन्छ भन्नेमा पनि परामर्शमा रहेको थाहा भएको छ । प्रधानमन्त्री दाहालले वामपन्थी दलको नेतृत्वको सरकारले आजसम्म आमनिर्वाचन गरेको रेकर्ड नरहेको तर्क गर्दै त्यसका लागि पनि मिलेर सहकार्य गर्न अध्यक्ष ओलीसँग छलफल गरेका छन् । यो तर्क प्रधानमन्त्री दाहालको सत्तामा रहीरहने चालबाजी भनेर अध्यक्ष ओली सतर्क रहेको उनी निकट सूत्रले बताएको छ । तर आलोपालो नेतृत्व गर्ने सहमतिमा अन्तिम अवधि आफूले निर्वाचन गराउने गरी प्रधानमन्त्री हुने भरपर्दो सहमति भए एमालेलाई आपत्ति नहुने भनेर ओलीले जवाफ दिएको भनाई छ ।

विप्लव समेत सहभागी हुनेगरी निर्माण गर्न लागिएको समाजवादी मोर्चाको मूल राजनीतिक लक्ष्य नै वामपन्थी दलको नेतृत्वको सरकारले आगामी संसदीय निर्वाचन गराउने भन्ने रहेको माओवादीका एक केन्द्रीय सदस्यले बताए ।

माओवादी नेतृ पम्फा भुसालले मोर्चा गठनको अभियान अघि बढिसकेको भन्दै केही गरी एमाले सरिक हुननआए पनि अरु वामपन्थी दलहरु मिलेर मोर्चा गठन हुने दावी गरेकी छन् ।

मधेश प्रदेश सरकारबाट कांग्रेस ब्याक
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ । केही दिन अगाडि प्रदेश सरकारमा रहेका तीन जना मन्त्रीहरुलाई मुख्यमन्त्रीले हटाएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ६ : २७ बजे