Logo

मुख्य समाचार

न्याय क्षेत्रमा महिलाको सारभूत प्रतिनिधित्व अपरिहार्य : प्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाको सारभूत प्रतिनिधित्व अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा महिलाको सारभूत प्रतिनिधित्वको विषय दिगो विकासका लक्ष्य हासिल गर्ने तथा लोकतन्त्र, विधिको शासन, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्वपूर्ण आधार हुने बताए ।

उनले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थिति वा प्रतिनिधित्वको विषय संख्यामा मात्र नभइ मानव अधिकार तथा न्यायका मूल्य मान्यता र आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिवद्धता रहेको बताए ।

उनले न्यायपालिकामा महिला न्यायाधीशको सम्माजनक उपस्थिति र प्रतिनिधित्वले समानताको प्रत्याभूति गर्ने बताए । प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थिति आफैँमा लैंगिक मान्यताप्रतिको परम्परागत सोच तथा लैंगिक मनोवृत्तिविरुद्धको बलियो प्रमाण भएको बताए ।

उनले न्याय क्षेत्रमा महिलाको सहभागिताले न्याय क्षेत्रमा समावेशी पारदर्शीता र न्यायिक सदाचारको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानन्यायाधीश श्रेष्ठले कानुन व्यवसायमा महिला कानुन व्यवसायीको संख्या उल्लेख्य वृद्धि हुँदै गएको बताए । कानुन विषयको अध्ययन गर्ने महिलाको संख्या पछिल्लो समयमा उत्साहवर्द्धक रहेको उनको भनाइ छ । उनले सबैको प्रयास र प्रतिवद्धताबाट नै न्यायपालिका अहिले स्वभाविक लय र गतिमा हिँड्न थालेको बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १२ : १२ बजे