Logo

कर्पोरेट

सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सकियो



काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ ।

‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ बिहीबारबाट सुरु भएको कन्क्लेभ आज (शुक्रबार) सकिएको हो । सहकारी डिजिटल कन्क्लेभमा उपस्थित २ सयभन्दा बढी सहकारीकर्मी, सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवालाहरुले सात बुँदे साझा प्रतिवद्धतापत्र जारी गरेका हुन् ।

सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालनाका साथ डिजिटलाइजेसनमार्फत नेपालको सामाजिक–आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न सामूहिक रूपमा सात बुँदे प्रतिवद्धता जाहेर गरेको महासंघका उपाध्यक्ष डिबी बस्नेतले बताए ।

सहकारी कार्यस्थललाई २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाईजेशनमा रुपान्तरण गर्न कार्यक्रममा सहभागीहरुले प्रतिवद्धता जनाएका छन् । त्यस्तै सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने सहकारीकर्मीहरु प्रतिवद्धता जनाएका छन् ।

सहकारीका सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नविनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकुलन बनाउन साझा प्रतिबद्धता जनाएका छन् ।

सहकारी सहकारी डिजिटल कन्क्लेभको समापन समारोहमा बोल्दै महासंघका अध्यक्ष ओमदेवी मल्लले कार्यक्रमले सहकारीहरुलाई डीजिटाइज गर्न उत्साह थपेको बताईन । कोभिडपछि सहकारीहरु विस्तारै डीजिटाइजतर्फ अघि बढेको स्मरण गर्दै अध्यक्ष मल्लले कन्क्लेभले थप उत्साह थपेको उनले प्रष्ट पारे । प्रविधिको प्रयोगसँगै सन् २०३० सम्म सहकारीको संख्या १० हजारमा झार्ने अभियानको योजनालाई सफल बनाउन मद्दत पुग्ने उनले बताईन ।

यस्तो छ प्रतिवद्धतापत्र

प्रथम सहकारी डिजिटल कन्क्लेभ, काठमाडौं

प्रतिवद्धतापत्र – २०८०

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा काठमाडौंमा मिति २०८० चैत १ र २ गते ‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ सम्पन्न प्रथम सहकारी डिजिटल कन्क्लेभमा उपस्थित हामी सहकारीकर्मी, सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवालाहरु यो प्रतिवद्धतापत्र–२०८० जारी गर्दछौं । सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालनाका साथ डिजिटलाइजेसनमार्फत नेपालको सामाजिक–आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न हामी सामूहिक रूपमा यो प्रतिवद्धता जारी गर्दछौं ।

१) डिजिटलाइजेसन प्रति प्रतिबद्धः दक्षता, पारदर्शिता र समावेशीतालाई आत्मसाथ गर्दै सहकारी कार्यस्थललाई २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाईजेशनमा रुपान्तरण गर्न हामी प्रतिबद्ध छौं ।

२) नीति वकालतः सहकारी डिजिटलाईजेशन र नविनताका लागि अनुकुल वातावरण निर्माण गर्न हामी राष्ट्रिय स्तरमा सूचना, संचार र प्रविधि (आईसीटी) नीतिहरूको विकास र कार्यान्वयनको लागि वकालत गर्न प्रतिबद्ध छौं ।

३) सीप आदानप्रदान र क्षमता विकासः सदस्य र नेतृत्वलाई डिजिटल साक्षरतामार्फत आवश्यक सीप र स्रोतहरूबाट सुसज्जित गरी समुदायहरूमा सहकारी डिजिटलाइजेशनसँग सम्बन्धित ज्ञान र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न प्रतिबद्ध छौं ।

४) साइबर सुरक्षाः सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राख्न प्रतिवद्ध छौं ।

५) सहयोग र साझेदारीः सहकारीमा डिजिटल रुपान्तरणको गतिलाई तिव्र बनाउन सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवाला निकायहरुबीचसँग सहयोगात्मक साझेदारीलाई अभिबृद्धि गरी पारदर्शिता र जवाफदेहितामार्फत स्वनियमन र सुशासनलाई मजबुद बनाउन प्रतिबद्ध छौं ।

६) सशक्तिकरण र निरन्तर सुधार : सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नविनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकुलन बनाउन प्रतिबद्ध छौं ।

७) समावेशी र दिगो विकासः अभियानको इकोसिस्टमभित्र समावेशीता, लैङ्गिक समानता, युवा उत्प्रेरणा र वातावरणीय दिगोपनका विषयलाई प्राथमिकतामा राखी सहकारी डिजिटलाइजेसनमार्फत प्राप्त हुने लाभलाई समानुपातिक रूपमा सदस्यहरुमा वितरण गर्न प्रतिबद्ध छौं ।

२०८० चैत्र २ गते, काठमाडौं ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : ३४ बजे