Logo

कर्पोरेट

नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर जारी गर्ने



काठमाडौं । प्राथमिक पूँजीकोषमा दबाब परेपछि नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता अग्राधिकार सेयर बिक्री गर्ने प्रस्ताव नबिल बैंक सञ्चालक समितिले गरेको हो ।

प्राथमिक पूँजीको हिस्साको रुपमा रहनेगरी नियमनकारी निकायको स्वीकृपछि उक्त सेयर जारी गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवलीले बताए । उक्त सेयर साधारणमा कन्भर्ट नहुने र मुनाफा भएको वर्षमा मात्रै ८ प्रतिशत लाभांश वितरण गर्नेगरी जारी गर्ने निर्णय बैंक सञ्चालक समितिले गरेको हो ।

उक्त सेयर धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएर कारोबार गर्न सकिने ज्ञवली बताउँछन् । उक्त सेयर ऋणपत्र जस्तो अवधि पूरा भएपछि रकम फिर्ता नहुने तर बैंकले १० वर्षपछि सेयर बिक्रीको लागि होल्ड गरेकालाई आह्वान गर्न सक्ने ज्ञवली बताउँछन् । त्यस्तो बेला सेयरहोल्डरले नै उक्त सेयर बैंकलाई बिक्री गर्ने वा नगर्ने भन्ने अधिकार राख्ने उनले बताए ।

त्यस्तै बैंक सञ्चालक समितिले ८ वर्ष अवधिको लागि ८ प्रतिशत ब्याजदरको नबिल बैंक डिवेञ्चर २०८९ पनि जारी गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  २ : ३६ बजे