Logo

कोशी

झापा गोल्ड कप फाईनल सोमबार, चर्च ब्वाईज र एपीएफ भिड्दै


२७ फाल्गुन २०८०, आइतबार  

138
Shares

झापा । छैटौं झापा गोल्ड कपको फाइनल खेल सोमबार बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा हुँदै छ । फाइनल खेलमा गोल्ड कपमा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच प्रतिष्पर्धा हुने छ ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो । शहीद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ ।

बिभागीय टोली एपीएफले झापा गोल्ड कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा ए डिभिजनको संकटा युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा एपीएफले स्थान सुरक्षित गरेको थियो । क्वाटरफाइनलमा पनि एपीएफले टाइब्रेकरको सहारा लिनु परेको थियो । सर्लाहीको बागमती गुथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफले पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । एपीएफले आर्मीसँगको खेलमा पहिलो पटक ९० मिनेटभित्र नतिजा निकाल्न सफल भएको थियो । कर्नरबाट प्राप्त बललाई एपीएफका बिदेशी स्ट्राइकर फोडे फोफोनले हेड मार्फत बललाई जाली चुमाएका थिए । आर्मीका डिफेण्डर कमल थापालाई टच हुँदै भएको सो गोलले एपीएफलाई फाइनलमा पु¥याएको थियो । यो गोल फोडे फोफोनाको नाममा छैन ।

प्रतियोगितामा पहिलो पटक सहभागी भएको चर्च ब्वाइजको यात्रा भने प्रतियोगितामा उत्साहजनक रह्यो । चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखायो । ६ वटै प्रतियोगितामा सहभागी भएको नेपाल पुलिस यो संस्करणसम्म आइपुग्दा पहिलो खेलबाटै घर फर्किने टोली बनेको छ । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब एनआरटीमाथि १–० को नतिजा निकाल्यो ।

सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान पक्का गरेको छ । चर्च ब्वाइज युनाइटेड र एपीएफ एफसीले सोमबार उपाधीका लागि प्रतिष्पर्धा गर्नेछन् ।

समान तीन खेल खेलेका चर्च ब्वाइज र एपीएफ क्लबबीचको खेल हेर्दा उपाधीका लागि चर्च ब्वाइजलाई दाबेदार मान्न सकिन्छ । चर्च ब्वाइजका बिदेशी स्ट्राइकर अबयोमी फकुन्ले, बिजय भुजेल र एट्याकिङ मिडफिल्ड खेल्दै आएका सुरज जिउ ठकुरी एपीएफका लागि खतरा बन्ने देखिन्छ । चर्च ब्वाइजका स्ट्राइकर सञ्जित राई र एकराज बुढाथोकीको तालमेल एपीएफको स्कोरिङमा मुख्य रुपमा  बाधक बन्न सक्छन् । गोलरक्षक दिप कार्की चर्च ब्वाइजको लागि अर्का भरपर्दा खेलाडी हुन् । झापा ११ सँग भएको टाइब्रेकरमा बाहेक चर्च ब्वाइजले हालसम्म आफ्नो पोष्टमा कुनै गोल प्रवेश गर्न दिएको छैन ।

एपीएफ एफसीले भने उद्घाटन र क्वाटरफाइनल खेलमा टाइब्रेकरको सहारा लिनु परेको थियो । दुई पटक टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सेमिफाइनल खेलेको एपीएफले फाइनलमा आर्मीलाई मुस्किलले हराउन सकेको थियो । आर्मीले दिएको उपहार गोलको मदतले एपीएफ फाइनलमा पुगेको हो ।

एपीएफका छरिता स्ट्राइकर प्रदीप लामा, बुद्धिमान राई र फोडे फोफोनाको खेलमा तालमेल मिलेको अवस्थामा नतिजा आफ्नो पक्षमा पार्ने देखिन्छ । कप्तान  मानबहादुर राना र बिदेशी खेलाडी सर्ज डिका चर्च ब्वाइजको स्कोरिङमा बाधक बन्न सक्छन् । दुई खेलको म्यान अफ दि म्याच बनेका गोल रक्षक एञ्जल श्रेष्ठ एपीएफका भरपर्दा खेलाडी हुन् ।

झापा गोल्ड कपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले ७ लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १२ : ०४ बजे