Logo

मुख्य समाचार

महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन पुरस्कार


८ फाल्गुन २०८०, मंगलबार  

92
Shares

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लाका एक–एकजना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पुरस्कृत गरेको छ ।

प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले पाँच हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता पनि उपलब्ध गराएको छ ।

सेवामा उत्कृष्ट भएका प्रदेशका प्रत्येक जिल्लाका एक–एक स्वयंसेवीहरुलाई १५ हजार रुपैयाँसहित चाँदीको सिक्का, साडी, टर्चलाइटसहित सम्मानपत्र प्रदान गरिएको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

गर्भधाणदेखि शिशुको हेरचाहसम्म अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहित गर्न सम्मान तथा पुरस्कार प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रमोर्चामा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई उचित सम्मान गर्ने बताउँदै आएका थिए ।

प्रजातन्त्र दिवसको अवसर पारेर उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । यसका लागि प्रतिस्थापन विधेकमार्फत आएको बजेटमा व्यवस्था गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

भौतिकविकासको दिगोपनाका लागि प्रदेश सरकार मानवीय विकासमा केन्द्रित रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘दिनरात नभनी गाउँगाउँमा गएर आमा र शिशुको ख्याल राख्ने, भिटामिन खुवाउने ‘धाई आमा’ हरूलाई सम्मान र प्रोत्साहन गरेर उहाँहरूलाई शिरमा राखेका छौँ ।’

सम्मानित हुनेमा ताप्लेजुङकी पम्फामाया राई, दिलमाया मगर उदयपुर, निरकुमारी राना ओखलढुङ्गा, तिलमायाखड्का सुनसरी, दयावती राजवंशी–झापा छन् ।

यसैगरी, छिरिजम्दा भोटे– संखुवासभा, पुण्यकुमारी पौडेल–खोटाङ र यशोदा ढकाल–पाँचथर, गोमा भट्टराई–तेह्रथुम, सीता तामाङ–भोजपुर, ईश्वरा निरौला– इलाम, सोनीकुमारी चौधरी–मोरङ, ल्हेमी शेर्मा–सोलुखुम्बु र खड्गकुमारी विश्वकर्मा–धनकुटा छन् ।

प्रदेशभर ८ हजार ७ सय ९१ जनामहिला स्वयंसेविका छन् । उनीहरुले मासिक ८ सय रुपैयासम्ममा काम गरिरहेका हुन्छन् । स्वयंसेविकाहरुको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने स्वयंसेविका संघकी कोशी इन्चार्ज रत्ना रिजाल बताउँछिन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : ५९ बजे