Logo

कला/साहित्य

इलामको रोङमा कला—संस्कृति महोत्सव



विराटनगर । रैथाने कला—संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिकामा आज(शनिबार)देखि कला—साहित्य महोत्सव आयोजना हुँदैछ ।

इलामस्थित चेतना नाट्य समूह र झापाको ट्रेक—८५८६ को समन्वयमा माघ २७ देखि २९ गतेसम्म वडामा महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवका विषयवस्तु स्थानीय मौलिस संस्कृतिसँग सम्बन्धित रहने वडाध्यक्ष सत्यम राईले बताए । उनका अनुसार फरक किसिमले कला, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गर्न लागिएको हो ।

महोत्सवका क्रममा लेप्चा, तामाङ, राई, लिम्बू, राई, नेवारलगायत विभिन्न जाति र संस्कृतिका झाँकी प्रदर्शन गरिने छ उनले बताए । उक्त गाउँपालिका अल्पसंख्यक लेप्चा जातिको बसोबास भएको स्थान हो ।

महोत्सव आयोजनाका लागि नवीन तामाङको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समिति सदस्यमा धिरेन सुन्दास र धनवीर राई छन् ।

झाँकी प्रदर्शनका लागि उपसमिति गठन गरिएको छ । उपसमितिले सम्बन्धित समूहलाई प्रशिक्षित गर्दै नयाँ पुस्तालाई कला—संस्कृति सिक्ने अवसरसमेत प्रदान गर्ने जनाइएको छ । महोत्सवमा लेप्चा समुदायको नृत्य, साकेला नृत्य, च्याबु्रङ, तामाङ सेलो, मारुनीलगायत प्रस्तुत गरिने राईले बताए ।

महोत्सवको उद्घाटन माघ २७ गते पर्यटकीय झन्डीडाँडामा गरिने छ । त्यसपछि त्यसैदिन साहित्यकार राजन मुकारुङले मुख्य वक्ताका रूपमा रैथाने ज्ञानको आवश्यकता विषयमा मन्तव्य राख्ने कार्यक्रम छ ।

कृषिः सम्भावना, समस्या र सीमा विषयमा योगेन्द्रमान श्रेष्ठसहित थप दुई वक्ताबीच बहस हुनेछ । कला—साहित्यभित्र गाउँको चित्रण विषयमा हाङयुग अज्ञात र अरू दुई वक्ताबीचको बहस पनि हुनेछ ।

दोस्रो दिनको कार्यक्रम सलकपुरमा आयोजना गरिएको छ । त्यस दिन कविहरू गाउँ फर्किन्छन् कार्यक्रम सञ्चालन गरिनेछ । यसमा १० स्थानीय र १० गैरस्थानीय कवि—कवयित्रीले आफ्ना रचना सुनाउनेछन् ।

विश्वव्यापीकरणभित्र गाउँ शीर्षकमा आहुति, समुना श्रेष्ठ र अन्य दुई वक्ताबीच छलफल हुनेछ । गाउँ—सहरका महिला र पुरुष विषयमा कैलाश राई र अन्य दुई वक्ताबीच छलफल गर्ने तय भएको छ । हामी इतिहासमा बाँच्छौं विषयमा वीरबहादुर लेप्चा र अन्य दुई वक्ताबीचको बहस पनि त्यसै दिन हुनेछ ।

तेस्रो दिनको कार्यक्रम सांस्कृतिक सर्किटको जौबारीमा हुनेछ । एक चित्रकारले देख्ने गाउँ को चित्रकला प्रदर्शनी गरिने छ । यसमा २० चित्रकार सहभागी हुनेछन् । त्यही दिन स्थानीय विषय समेटिएको नाटक मञ्चन गरिनेछ । नाटकमा चेतना नाट्य समूह र स्थानीय कलाकार रहनेछन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ११ : ३४ बजे