Logo

कला/साहित्य

काठमाडौंमा नेपाल–जर्मन ललितकला कार्यशाला



काठमाडौं । नेपाल र जर्मनीका कलाकारको सहभागितामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा  अन्तर्राष्ट्रिय कला कार्यशाला–२०२४ सोमबार सुरु भएको छ । दुई दिने कार्यशालाको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र जर्मन कलाकार हल्ज अचेनबेचले संयुक्तरूपमा गरेका छन् । 

कुलपति हार्तम्छालीले विश्व ग्लोबल भिलेजका रूपमा रहेको बताउँदै जर्मनीबाट नेपाल आएका कलाकारप्रति आभार व्यक्त गरे । उनले भने ‘नेपाल र जर्मनीको दृष्टिकोणबाट यस्ता गतिविधिमा संलग्न हुँदा त्यसले दुई देशबीचमा आत्मीयता बढाई सकारात्मक सन्देश दिन्छ । यस्ता गतिविधिलाई निरन्तरता दिन आवश्यक छ ।’

जर्मन कलाकार अचेनबेचले नेपालमा पाहुना भएर आउन पाउँदा खुसी लागेको बताउँदै अरू जर्मन कलाकारलाई पनि नेपाल भ्रमण गर्न आग्रह गर्ने बताए । उनले भने ‘हामी नेपालका कलाकारलाई पनि जर्मनीमा स्वागत गर्न चाहन्छौं । यस्ता कार्यक्रमहरूमार्फत नेपाली कलाको प्रचार–प्रसार हुने विश्वास मैले लिएको छु ।’

कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवा राईले  कार्यशालाले नेपाल र जर्मनीबीच कला, संस्कृति आदानप्रदान गर्न योगदान पु¥याउने बताए ।

कार्यशालामा नेपालबाट हार्तम्छाली, लालकाजी लामा, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, संगी श्रेष्ठ, जुपिटर प्रधान, कृष्णप्रकाश शाह, रमेशनाथ खनाल, रविनकुमार कोइराला, धनबहादुर याखा, मुकेश मल्ल, जीवन राजोपाध्याय, नवीन्द्रमान राजभण्डारी, कीर्तिकौशल जोशी, केशव राज खनाल, मुकेश श्रेष्ठ, नारायणप्रसाद बोहजु, प्रमिला बज्राचार्य, सम्झना राजभण्डारी, किरण सिगु, जुजुकाजी श्रेष्ठ ‘प्रभात’, नेमबहादुर तामाङ, सफलराम श्रेष्ठ, सुयोग महर्जन, हरि बम्जन, कृति चन्द शाह र सुनैना ठाकुर सहभागी छन् ।

यस्तै जर्मनीका अचेनबेच, बोट्टी हेन्स हर्मन, अलेक्जेन्द्रा बीसी, अलेक्जेन्द्रा आइजर, इलब फोटिनर, बन्र्ड जिमर, डेनियल जर्बस्ट, कार्सन फोक, अर्मिन बम्गार्टन र सुसेन केम्पलगायतको सहभागिता छ । जर्मनीका कलाकारहरू ‘नेपाल आर्ट एक्सचेञ्ज’ को सिलसिलामा आएका हुन् ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : २१ बजे