Logo

कला/साहित्य

‘कम्युनिष्टले लोकतान्त्रिक चरित्र छोड्नु हुँदैन’



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को सान्दर्भिकता नेपालमा आज पनि उत्तिकै रहेको बताएका छन् ।

कृषिमन्त्री डा.वेदुराम भुसालद्वारा लिखित पुस्तक ‘जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम’ को आइतबार राजधानीमा आयोजित लोकार्पण समारोहमा बोल्दै अध्यक्ष नेपालले जबजको अझै सान्र्दभिकता रहेको बताएका हुन् । कम्युनिष्ट पार्टीहरुले आफ्नो चरित्रलाई पुष्टि गर्न आफ्नो लोकतान्त्रिक चरित्रलाई दृढताको साथ अगाडि बढाउँदै बहुदलीय प्रतिस्पर्धाको नीतिबाट विचलित हुनु नहुने उनले उल्लेख गरे ।

जबजको औचित्यका बारेमा चारैतिरबाट प्रश्नहरु उठिरहँदा भुसालको पुस्तक उपयुक्त समयमा आएको धारणा पनि उनले राखे ।

जबजको औचित्यका सन्दर्भमा पुस्तकले स्पष्ट पार्ने उल्लेख गरेका नेपालले मुलुकमा जबजको ४० वर्ष अगाडिको विचार निर्माणको सन्दर्भ र उद्देश्यबारे प्रष्ट्याए । सो क्रममा नेपालले कम्युनिष्टहरुले आफ्नो लोकतान्त्रिक चरित्रलाई छाडेर अगाडि बढ्न नहुनेतर्फ जोड दिँदै आफ्नो विचार, सिद्धान्त र कामबाट जनतामाझ कम्युनिष्ट हुनुको पुष्टि बहुदलीय प्रतिस्पर्धाको राजनीतिबाटै गर्नुपर्ने बताए ।

नेपालमा कम्युनिष्टहरु समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताएका उनले समाजवादी क्रान्तिको चरणमा पनि बहुदलीय प्रतिस्पर्धाको राजनीतिको उत्तिकै उपादेयता भएको बताए । नेपाली समाजवाद चीन, भियतनाम र क्युवाको जस्तो नभएर बहुदलीय प्रतिस्पर्धासहितको हुने चर्चा उनले गरे ।

कार्यक्रममा बोल्दै लेखक मन्त्री भुसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकास क्रमलाई अनुकरण गर्दै माक्र्सवादी कोणबाट यसलाई पारक गर्नु नै आफ्नो पुस्तकको मूल उद्देश्य भएको बताए । उनले पुस्तक अनुसन्धानात्मक कृति भएको उल्लेख गरे ।

भुसालले विद्यावारिधिको विषयवस्तु नै जबजलाई लिएका थिए । जबजबारे विभिन्न कोणबाट गरिएको सोही अनुसन्धानमूलक तथ्यलाई समेटेर पुस्तक लेखिएको उनले प्रस्ट पारे ।

जबजका बारेमा यसअघि धेरै अध्ययनहरु भए पनि ती भन्दा दार्शनिक कोणबाट गरिएको पहिलो अध्ययन नै यही भएको धारणा उनले राखे ।

जबजका दार्शनिक एवं ऐतिहासिक आधारहरुको अध्ययन गर्ने, माक्र्सवादको सिर्जनात्मक पक्षका सन्दर्भमा जबजको प्रतिपादनलाई अध्ययन तथा विश्लेषण गर्ने, नेपालको कम्युनिष्ट आन्दोलनमा जबजको उद्भव र विकासको अध्ययन गर्ने र जबजको आयाम र अन्र्तरवस्तुहरुको अध्ययन र विश्लेषण गर्ने मूल चार उद्देश्यमा पुस्तक लेखिएको जानकारी कार्यक्रममा दिइयो ।

पुस्तकमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा जबज सिद्धान्त प्रतिपादन भएको हो भन्ने कुरा विश्लेषणहरुबाट निष्कर्ष आएको समीक्षा पौडेलले गरे ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : ५९ बजे