Logo

मुख्य समाचार

महानगर नगरसभा : विराटनगरलाई गर्व गर्न लायक बनाउँछौं



विराटनगर । विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन बुधबार सम्पन्न भएको छ । नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबै नगरसभा सदस्यहरूको साथ र सहयोगबाट विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताए ।

आगामी दिनमा नगरसभा सदस्यहरूको अझै प्रभावकारी र रचनात्मक साथ र सहयोग रहने मेयर कोइरालाले विश्वास व्यक्त गरे । उनले सीमित स्रोत र साधनबाट महानगरवासीको असीमित चाहना परिपूर्तिका लागि अहोरात्र खटिरहेको उल्लेख गरे ।

‘सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नुपर्ने नगरसभा सदस्य सबैको सामूहिक चुनौती रहेको छ । त्यसका लागि अनवरत रुपमा लागिपरेकै छौं,’ उनले भने ।

आफ्नो कार्यकाल पूरा गरेर विदा हुँदै गर्दा प्रमुख र उपप्रमुखले मात्रै होइन हरेक नगरसभा सदस्यहरूले पनि आफ्नो कार्यकालमा यस्तो कार्य गर्यौं भनेर गर्वका साथ भन्ने अवस्था सिर्जना गर्ने कोइरालाले बताए ।

मेयर कोइरालाले अघिल्लो आर्थिक वर्ष ७३ प्रतिशत बेरुजु फछ्र्यौट गरेको जानकारी दिए । उनले आगामी दिनमा बेरुजुलाई शून्यतातर्फ लाने प्रयन्त गरिरहेको बताए । नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०–८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गरेकी थिइन् ।

चालु आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म १ अर्ब ८ करोड ६८ लाख ५१ हजार ७ सय अर्थात् ३३ प्रतिशत मात्रै भएको उमेयर कार्कीले जानकारी दिइन् ।

यसैगरी कुल अनुमानित व्यय ३ अर्ब २८ करोड ५० लाख अनुमान गरिएकोमा पुस मसान्तसम्म यथार्थ व्यय १ अर्ब ३ करोड १६ लाख ९३ हजार ८ सय रुपैयाँ अर्थात् ३१ दशमलव १४ प्रतिशत मात्रै भएको कार्कीले बताइन् ।

उक्त खर्चमध्ये पुँजीगततर्फ ३८ करोड ६७ लाख १६ हजार ७ सय रुपैयाँ अर्थात् ३० दशमलव ६५ प्रतिशत र प्रशासनिक एवं चालुतर्फ ६२ करोड १५ लाख १९ हजार ३ सय रुपैयाँ अर्थात् ४० दशमलव १४ प्रतिशत भएको उमेयर कार्कीले अर्धवार्षिक समीक्षा प्रस्तुत गरिन् ।

महानगरले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ७ लाख ९६ हजार ९ सय रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ । महानगरले चालु आर्थिक वर्ष ८९ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

पुस मसान्तसम्म लक्ष्यको २३ दशमलव ५५ प्रतिशतमात्रै आन्तरिक राजस्व संकलन भएको उपमेयर कार्कीले प्रस्तुत गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी राजस्व बाँडफाँडबाट प्राप्त राजस्वतर्फ ७० करोड २५ लाख ३ हजार रुपैयाँ अनुमान गरिएकोमा १३ करोड ४२ लाख २२ हजार ९ सय रुपैयाँ अर्थात् १९ दशमलव ११ प्रतिशतमात्रै प्राप्त भएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरण संघीय सरकारतर्फ १ अर्ब १९ करोड २४ लाख रुपैयाँ अनुमान गरिएकोमा ६७ करोड ८८ लाख ६४ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त भएको कार्कीले बताइन् ।

प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ ४ करोड ६६ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म १ करोड २९ लाख ७६ हजार ७ सय रुपैयाँ प्राप्त भएको उनले उल्लेख गरिन् ।

यस्तै, जनसहभागितातर्फ ८ करोड ७९ लाख ३४ हजार रुपैयाँ अनुमान गरिएकोमा पुस मसान्तसम्म ९४ लाख ४७ हजार रुपैयाँ मात्रै जनसहभागिता जुटेको उपमेयर कार्कीले जानकारी दिइन् । ३ अर्ब २८ करोड ५ लाख रहेको बजेटलाई नगरसभाले संशोधन गरी ३ अर्ब ३४ करोड ६७ लाख १२ हजार पुर्याएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ९ : ३२ बजे