Logo

खेलकुद

खेलाडी पलायन रोक्न कार्यक्रम ल्याउँछौंः खेलकुद मन्त्री लिम्बु



काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने बताएका छन् । उनले आर्थिक वर्ष ०८१–८२ को बजेटमा खेलकुद क्षेत्रलाई माथि लैजान सक्ने गरी निर्माण गर्न आफूहरु गम्भीर भएर लागेको जानकारी दिए ।

बुधबार सिंहदरबारमा आयोजित राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रममा उनले खेलकुद क्षेत्रको विकास र प्रबर्द्धनका लागि बजेट नै प्राथमिक साधन भएकाले बजेटको सिलिङ बढाउनमै अहिले मन्त्रालय लागेको बताए ।

उनले अर्थतन्त्रलाई ध्यानमा राखेर नयाँ बजेट ०८१–८२ को लागि सैद्धान्तिक छलफलहरु गरिरहेको र त्यसमा बजेटको सिलिङ् बढाउने विषय मुख्य प्राथमिकतामा राखेको उल्लेख गरे ।

मन्त्री लिम्बुले खेलाडीलाई प्राथमिकतामा राखेर व्यवसाय गर्न चहाने खेलाडीका लागि स्वरोजगार कोषको माध्यमबाट दिँदै आएको सस्तो व्यवसाय कर्जालाई आगामी वर्षबाट दुई लाखबाट बढाएर ५ लाख रुपैयाँसम्म पुर्याउने गरी कार्य गरिरहेको बताए ।

नेपालमा रहेका सम्भावना बोकेका क्षेत्रलाई कसरी खेलमा पनि समेट्न सकिन्छ र युवा खेलाडी पलायन भैरहेको अवस्थामा कसरी देशमै बसेर काम गर्न सक्ने परिस्थिति बनाउन सकिन्छ भन्ने पक्षमा सरकार रहेको मन्त्री लिम्बुको धारणा छ ।

उनले आफूहरुले खेलाडी पलायनलाई रोक्न देशमै खेलाडीलाई व्यवसायी बनाउन चाहेको पनि बताए ।

कार्यक्रममा कबड्डी, टेवल टेनिस, कराते, पारा तेक्वान्दोका खेलाडी तथा प्रशिक्षकलाई पनि सम्मानित गरिएको थियो ।

सम्मानित हुने खेलाडीमा टेबल टेनिसमा काठमाडौंकी नविता श्रेष्ठ र शुभश्री श्रेष्ठ, भक्तपुरका शिव सुन्दर गोथे छन् । टेवल टेनिसका निर्णायक कन्चनपुरका तेजेन्द्र सिंह महरा पनि सम्मानित भएका छन् ।

कबड्डीतर्फ खेलाडी मोरङकी मेनुकाकुमारी राजवंशी र कबड्डीकै प्रशिक्षक पार्वती राई सम्मानित भए । यस्तै, कराँतेमा धादिङकी एरिका गुरुङ,पारा तेक्वान्दोमा पलेशा गोवर्धन,र फुटबलका फिजियोथेरापिष्ट आविस्कार पुडासैनी पनि पुरस्कृत भए ।

कार्यक्रममा खेलकुद प्रोत्साहन पत्रकारिता पुरस्कारबाट सातै प्रदेशबाट ८ जनालाई  सम्मान गरिएको छ ।

खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट कोशी प्रदेशको मोरङ जिल्लाबाट हरिप्रसाद कोइराला, मधेश प्रदेशका तिवारी यादव, बागमती प्रदेशबाट गोविन्दराज नेपाल सम्मानित भएका छन् ।

यस्तै, गण्डकी प्रदेशबाट रोहितराज पराजुली, लुम्बिनी प्रदेशकारिखिराम जिसी कर्णाली प्रदेशबाट नन्दराम जैशी र सुदुरपश्चिम प्रदेशबाट नवराज पनेरु, महिलातर्फ रजनीकुमारी योगीले पत्रकारिता प्रोत्साहन पुरस्कार पाए ।

त्यसैगरी, धादिङ सिद्धलेक गाउँपालिका–२ का पत्रकारगोविन्द रेग्मी खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : ३१ बजे