Logo

मुख्य समाचार

जनशक्ति न औषधि, अस्पतालको सेवा स्वास्थ्य चौकीभन्दा कम



रामेछाप । रामेछापको दुर्गम गाउँपालिका उमाकुण्ड–२ बाम्तीमा रहेको बाम्ती अस्पतालमा पर्याप्त जनशक्ति, भवन, औषधि र उपकरण अभाव छ । यसले गर्दा बिरामीले उपयुक्त उपचार सेवा पाउन सकेका छैनन् ।

पहिले स्वास्थ्य चौकी रहेको भवनमा बाम्ती अस्पताल राखिए पनि स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवाभन्दा अस्पतालको सेवा माथि उठ्न सकेको छैन ।

एकमात्र पालिका स्तरको प्रस्तावित अस्पतालको न आफ्नै भवन छ, न त पर्याप्त स्वास्थ्यकर्मी र डाक्टर छन् । स्वास्थ्य चौकीकै छानामुनिबाट बाम्तीले बोर्ड झुण्ड्याएर स्वास्थ्य सेवा दिइरहेको त छ तर, अस्पतालको सेवा स्वास्थ्य चौकीले दिने सेवाभन्दा बढी हुन नसकेको त्यहीँका डाक्टर बताउँछन् ।

‘हामी स्वास्थ्य चौकीबाट अलिकति माथि उक्लिएका छौं भनौं, अस्पतालसम्म पुग्न पनि सकेका छैनौं’ बाम्ती अस्पतालका डाक्टर कमलराज रोकाले भने ।

डा. रोका बाम्ती अस्पतालमा विगत दुई वर्षदेखि कार्यरत छन् । तर नाम मात्रको अस्पतालमा नागरिकले अपेक्षा गरेको जस्तो सेवा प्रवाह गर्न नसक्दा उनलाई पनि खिन्न लाग्छ ।

नागरिकले काठमाडौंका सुविधासम्पन्न अस्पतालको जस्तै सेवा पालिका अस्पतालमा पाइन्छ भन्ने अपेक्षा राख्छन् अस्पतालमा न पर्याप्त जनशक्ति छ न आवश्यक औषधि उपकरण नै ।

डा. रोकाले भने ‘नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह गर्न सकिँदैन, न हामीसँग पालिका स्तरको जनशक्ति छन् न त औषधि उपकरण नै । हामीले नागरिकलाई कसरी अस्पतालको जस्तो सेवा दिने ? अस्पताल आउने नागरिक आक्रोश र निराशा बोकेर फर्किन्छन् ।’

उमाकुण्ड गाउँपालिकाले बाम्ती अस्पताललाई गाउँपालिका स्तरको अस्पताल सञ्चालन गर्ने भनेर काम सुरु गरेको लामै समय भयो । तर, योजना कार्यान्वयन भएको पाइँदैन ।

पहिलो कुरा अस्पताल भवन निर्माणको काम अझै सम्पन्न भएको छैन । स्वास्थ्य चौकीकै भवनबाट बाम्तीको स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । पालिका स्तरको अस्पतालको जनशक्ति पनि छैनन् ।

पालिका स्तरको अस्पतालमा २२ जना स्वास्थ्य जनशक्तिको आवश्यकता पर्छ, तर त्यसको आधा जनशक्ति पनि बाम्तीमा छैनन् ।

‘अहिले हामीसँग १० जनाको जनशक्ति छ, पालिका स्तरको अस्पताल बनेपछि २२ जना हुनुपर्छ । त्यसो हुँदा अरू धेरै सेवा प्रवाह गर्न सकिन्छ, अहिले स्वास्थ्य चौकीबाट अस्पताल ठुलै बन्यो तर सेवा ठूलो हुन सकेको छैन, हामी खुम्चिएरै बसेका छौं, डाक्टर रोकाले भने ।

बाम्तीले एक्स–रे तथा ल्याबका केही सेवा उपलब्ध गराएको छ तर, ती पनि पुराना प्रविधिमा आधारित रहेकाले सेवा प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मीले गुनासो गरे ।

गुणस्तरीय स्वास्थ्य सेवा पालिका स्तरको अस्पतालबाट पाउन नसक्दा त्यहाँका नागरिकलाई अस्पताल हुनु र स्वास्थ्य चौकी हुनु उस्तै उस्तै जस्तो भएको छ । 

अस्पतालमा आवश्यक मेसिनको अभावमा अन्दाजकै भरमा सेवा प्रवाह गरिरहेको बताउँछन् डाक्टर रोका । अस्पतालमा भएका स्वास्थ्य उपकरणलाई समेत अपडेट गर्नुपर्नेमा रोकाले जोड दिए ।

‘कतिपय उपकरण अपडेट गर्नुपर्ने छ, कतिपय उपकरण नै थप गर्नुपर्ने छ, अहिले ल्याबका अत्याधुनिक उपकरण आएका छन् । एउटै मेसिनले थाइराइड, ग्लुकोज लगायतका धेरै किसिमका जाँच गर्न सकिन्छ, त्यस्ता उपकरण जोड्न सके नागरिकलाई स्वास्थ्य परीक्षणको लागि काठमाडौं जानु पर्ने बाध्यता पर्दैन थियो । यहीँबाट हामीले गुणस्तरीय उपचार दिन सक्छौ तर, अहिले कतिपय अन्दाजकै भरमा उपचार गर्नुपर्ने अवस्था छ ।’

उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार बाम्तीलाई पालिका स्तरको अस्पताल बनाउने कामलाई पालिकाले प्राथमिकतामा राखेको बताउँछन् । सुनुवारले बाम्तीसँगै गाउँपालिकाको केन्द्र प्रीतिमा पनि अस्पताल निर्माणको काममा गाउँपालिका गम्भीर भएर लागेको बताए ।

उनले यस आर्थिक वर्षमा बाम्ती अस्पतालको भवन निर्माण कामलाई तीव्रता दिई सेवा विस्तार र सुधारको लागि प्रदेश र केन्द्र सरकारलाई समेत सहयोगको लागि आग्रह गरेर गाउँपालिकाले काम गर्ने बताए ।

बाम्तीले गाउँपालिकाको अस्पतालले औपचारिकता नपाउँदा स्वास्थ्य बीमा कार्यक्रम समेत प्रभावित बनेको त छ नै बिमित नागरिक स्वास्थ्य परीक्षण गर्न, बीमाको औषधि लिन तथा रिफरल सेवा गाउँबाट पाउाँबाट बञ्चित छन् ।

उनीहरू सेवा लिन मन्थली, जिरी र धुलिखेल पुग्नुपर्ने बाध्यता हट्न सकेको छैन ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १ : ४५ बजे