Logo

मुख्य समाचार

कोरियाली लगानीकर्तालाई स्वागत गर्न नेपाल तयार



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूलाई स्वागत गर्न तत्पर रहेको बताएका छन् । नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित समारोहमा उनले कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरुले हेर्न चाहेको बताए ।

मन्त्री साउदले सामसङ, हुन्डाई मोटर्सलगायत कोरियाली कम्पनीहरूले नेपालमा लगानीका सम्भावनाहरू खोज्न गहिरो चासो लिएकामा नेपाल सरकारले यो अवसरको सदुपयोग गर्ने उल्लेख गरे । नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । मन्त्री साउदले दुई देशबीच सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्दै यो सम्बन्ध मित्रता, सौहार्दता, सहयोग, आपसी सम्बन्धमा आधारित रहेको बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले कोरिया सरकारले नेपालीलाई रोजगारका क्षेत्रमा दिएको प्राथमिकताको प्रशंसा गर्दै नेपालीले कोरियामा सिकेको सीप, अनुभव र ज्ञान स्वदेशमा उपयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मन्त्री र नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले ५०औं वार्षिकोत्सवको स्मरणार्थ लोगो अनावरण तथा कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) कार्यक्रमबाट फर्किएका नेपालीको सफलताको कथामा आधारित पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’ को संयुक्तरुपमा विमोचन गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ३ : ४३ बजे