Logo

मुख्य समाचार

पाथीभरामा केबलकार निर्माणको विरोध



विराटनगर । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीय बासिन्दाले विरोध गरेका छन् । पाथीभरामा केबलबार बनाउने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीय बासिन्दाले यसका विरुद्ध पटकपटक प्रदर्शन समेत गर्दै आएका छन् ।

पछिल्लो पटक सोमबार पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा सोमबार विरोध प्रदर्शन गरिएको छ । ‘मुन्धुमी आस्थाको पवित्र स्थल’ भएको भन्दै उनीहरुले त्यस क्षेत्रमा केबलकार निर्माण गरिनु नहुने बताउँदै आएका छन् ।

प्रकृति मास्न नपाइने, पाथीभरालाई यथास्थितिमा राख्नुपर्ने, पाथीभराको नाम मुक्कुमलुङ हुनुपर्ने, आइएलओ १६९ पालना गर्नुपर्ने जस्ता माग उनीहरुको छ ।

पाथीभरा जाने बाटोमा पर्ने काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार निर्माणका लागि पाथीभरा केवलकार निर्माण प्रालिले प्रारम्भिक प्रक्रिया पूरा गरिसकेको छ । निर्माणका लागि अब रुख कटानलगायत काम अघि बढाउने तयारी गरिएको छ ।

उक्त कम्पनीको नेतृत्व उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले गरेका छन् । केबलकार बनाउनका लागि फुङलिङ नगरपालिकाले अनुमति दिइसकेको छ । पाथीभरामा केबलबार बनिनुपर्छ भन्ने पक्षमा पनि कतिपय स्थानीय बासिन्दा देखिएका छन् । स्थानीय अशोक खतिवडा केबलबार निर्माण भए वृद्धवृद्धा र अशक्तहरु पनि पाथीभरा दर्शनका लागि आउन सक्ने भएकाले निर्माण हुनु उपयुक्त भएको बताउँछन् ।

केबलकार निर्माण गरे आगन्तुकहरुको संख्या उल्लेख्य बढ्ने र जिल्लाको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ । तर निर्माण गर्दा यहाँको मौलिकता नष्ट नहुनेगरी गर्नुपर्ने उनले बताए । निर्माणको विरोधमा उत्रिएकाहरुले भने कुनै हालतमा केबलबार बन्न नदिने बताउँदै आएका छन् । केबलकार निर्माणको कुरामा विवाद र विरोध सुरु भएपछि समन्वय गर्नका लागि ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ ।

करिब १२ हजार फिट उचाइमा रहेको पाथीभरामा दर्शन र पूजाअर्चना गर्न जानेहरुको संख्या उल्लेख्य छ । नेपालका मात्र होइन, भारत र भुटानदेखिका श्रद्धालुहरु पाथीभरामा पुग्ने गरेका छन् । वर्षैभरि पाथीभरा जाने श्रद्धालुहरुको संख्या उल्लेख्य हुने गरेको छ । त्यहाँसम्म जान ठाडो उकालो बाटो हिँड्नुपर्ने हुन्छ ।

त्यसैले वृद्धवृद्धा र अशक्तहरुलाई पुग्न समस्या हुने गरेको छ । सामान्यतया ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिनको पैदल यात्रामा पाथीभरा धाम पुग्न सकिन्छ । पाथीभराबाट हिमशृङ्खला र पहाडी क्षेत्रको अवलोकन समेत गर्न सकिन्छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १ : ४३ बजे