Logo

मुख्य समाचार

प्रहरी नियन्त्रणमा नक्कली डाक्टर



काठमाडौं । चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा काम गर्ने गरेको भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका एक नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै विराटनगर–२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई सार्वजनिक गरेको हो ।

उनले नेपाल मेडिकल काउन्सिलको नक्कली प्रमाणपत्र बनाएर डा. एस भट्टचार्यको नामबाट ठगिरहेको प्रहरी जनाएको छ ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टचार्यले विगत नौं महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका छन् ।

त्यस्तै धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको रेग्मीले बताए ।

प्रहरीका अनुसार उनले विदेश जाने कामदारका लागि समेत नक्कली मेडिकल रिपोर्ट बनाउने गरेका थिए । प्रहरीले  उनीमाथि इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ०५ बजे