Logo

कर्पोरेट

उद्देश्यअनुरुप काम नगरेको पाइएपछि सहकारी व्यवस्थापनको पहल



विराटनगर । विभिन्न सहकारी संस्थाहरु उद्देश्य अनुरुप काम नगरी सिद्धान्तविपरीत सञ्चालन भएको भन्दै तिनको व्यवस्थापनको पहल गर्न थालिएको छ ।

यसका लागि सहकारीका नीति, सिद्धान्त र उद्देश्यका बारे प्रशिक्षण दिनेलगायत काम विराटनगर महानगरपालिकाले सुरु गरेको छ ।

सहकारीबाट ठगिएको, उद्देश्यअनुसार काम नभएको जस्ता गुनासो बढेपछि महानगरको नेतृत्वमा सहकारी संस्थाहरुको अनुगमन गरिएको थियो ।

त्यस क्रममा धेरै सहकारी संस्थाहरुको कार्यालय नै नभेटिएको समेत पाइएको थियो ।

महानगरका मेयर नागेश कोइरालाका अनुसार अनुगमनमका क्रममा कतिपय सहकारी संस्थाहरु सिद्धान्तविपरीत सञ्चालन भएको र त्यसले गर्दा समस्या आएको पाइएको बताए ।

कृषि सरकारी, बहुद्देश्यीय सहकारी, उपभोक्ता सहकारी भनेर दर्ता गरे पनि सबैजसो सहकारीले बचत र ऋणकै काम गरिरहेको पाइएको कोइरालाले बताए ।

‘कतिपय सहकारीहरु जुन उद्देश्यका लागि भनेर दर्ता भएका थिए त्यसअनुसार काम गरेका छैनन्,’ भेयर कोइरालाले भने, ‘सहकारी विभागले ऋण लगानीमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । तर महानगरले अनुगमन गर्दा धेरै सहकारीले २० प्रतिशतसम्म ऋण लगानीमा ब्याज लिएको पाइएको छ ।’

सहकारी गरिबी निवारणसँग सम्बन्धित हुनुपर्नेमा त्यसो नभएको उनको भनाइ छ । हुनेखानेले सहकारी खोलेर घरजग्गामा लगानी गर्ने अनि गरिबका पैसा डुब्ने गरेको कोइरालाले बताए ।

‘हुने खानेले सहकारी खोले, घर–गाडी र जग्गा किने, सर्वसाधारणको पैसाको टुंगो छैन,’ उनले भने, ‘पैसा हुनेहरुले पहुँच देखाउन खोलेका सहकारीले सामान्य नागरिकको पैसा डुबाएर बर्वाद पारेका गुनासाहरु दैनिक जस्तो महानगरपालिकामा आउने गरेका छन् ।’

कोइरालाले ज्येष्ठ नागरिक, सेवा निवृत कर्मचारी र सर्वसाधारणको पैसा सहकारीले डुबाएको आरोपसमेत लगाए ।

महानगरकी उपमेयर शिल्ला निराला कार्कीले दक्षिणी क्षेत्रका धेरै नागरिकलाई नियतबस फसाएर सञ्चालकहरुले सम्पर्कविहीन भइरहेको बताइन् । नियमनका क्रममा सहकारीको हिसाब प्रणाली व्यवस्थित नदेखिएको र ५० प्रतिशत सहकारीले मात्रै बहिखाता व्यवस्थित गरेको उपमेयर कार्कीको भनाइ थियो । उनले हाल न्यायिक समितिमा समेत सहकारी पीडितको हप्तामा दुईवटासम्म उजुरी परिरहेको जानकारी दिइन् ।

महानगरको आर्थिक समितिका संयोजक एवं विराटनगर–१९ का वडाअध्यक्ष श्याम घिमिरेले भित्रभित्रै गैरकानुनी ढंगबाट सहकारीमा सर्वसाधारणले बचत गरेको पैसा लगानी गरेर संस्थापक सदस्यहरुले बेइमानी गर्ने गरेको बताए ।

उनले गत वर्ष लेखा प्रणालीका विषयमा तालिम दिइएको र यो वर्ष व्यवस्थापनसँग सम्बन्धित तालिम दिइएकाले अब कुनै पनि त्रुटि हुन नहुने दाबी गरे ।

यसैबीच, महानगरपालिकाको आयोजनामा सहकारी व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ ।

विराटनगर क्षेत्रमा सञ्चालित सहकारीका व्यवस्थापक सहभागी तालिममा बचत परिचालन, ऋण परिचालन, कोषको व्यवस्थापनलगायतका विषयमा जानकारी दिइने जनाइएको छ । दुई चरणमा चार दिनसम्म सञ्चालन हुने तालिममा सहकारीका सयजना प्रतिनिधिको सहभागिता छ ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ११ : ३९ बजे