Logo

समाचार

खाँडादेवी गाउँपालिकामा यसै वर्षबाट पाँच शय्याको अस्पताल सञ्चालनमा आउने



काठमाडौं । खाँडादेवी गाउँपालिकामा यसै वर्षबाट पाँच शय्याको अस्पताल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ ।

खाँडादेवी गाउँपालिका–५ को गोगनपानीमा निर्माणाधीन गाउँपालिकाको अस्पतालको भवन चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।

अस्पताल भवन निर्माण सम्पन्न गरी यसै वर्षबाट पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । 

उक्त भवनको सबै काम पूरा हुँदा १५ शय्याको अस्पताल सञ्चालन गर्न सकिने भए पनि यस वर्ष एउटा तलाको काम पूरा गरी कम्तिमा पाँच शय्याको अस्पताल सञ्चालन गरिने उनले बताए ।

अस्पताल भवन निर्माणको लागि गाउँपालिकाले गत वर्ष १ करोड ३० लाख रुपैँया विनियोजन गरेको थियो । तर गतवर्ष सो काम पूरा हुन सकेन । यस वर्ष अस्पताल निर्माणको लागि गाउँपालिकाले सो भवनको लागि ४० लाख रुपैँया विनियोजन गरेको छ ।

यस वर्ष ५ शय्या सञ्चालन गर्ने गरी काम सम्पन्न गरी त्यहीँबाट सेवा सञ्चालन गर्ने श्रेष्ठले जानकारी दिए ।

अस्पतालको भवन निर्माण सम्पन्न नभएको कारण अहिले सो अस्पतालले दिने सेवा पकरबास स्वास्थ्य चौकीबाट प्रवाह हुँदै आएको छ ।

सो स्वास्थ्य चौकीबाट चिकित्सक सहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् ।

खाँडादेवी गाउँपालिकामा १३ वटा स्वास्थ्य इकाई छन् । ती स्वास्थ्य इकाइले ९ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ ।

गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न मोबाइल अस्पतालको धारणा समेत ल्याएको उनले बताए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ११ : ५२ बजे