Logo

Breaking News 1

एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारदेखि



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बिहीबारदेखि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उक्त बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सङ्गठन निर्माणमा समर्पित पार्टीको वैचारिक दृष्टिकोणलाई जनतासम्म पुर्याउन सक्षम तथा अहिलेसम्म अवसर प्राप्त नगरेका नेतालाई प्राथमिकतामा राखेर बनाइने मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने उनले बताए ।

देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा गरिने उक्त बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ । पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गरिने, समान विचार राख्ने राजनीतिक दल, सङ्घसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने उपमहासचिव खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १० : १७ बजे