Logo

Breaking News 1

संसदीय फाँटमा हाम्रो पाँच सबल र छ दुर्बल पक्ष रहे : रास्वपा



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय फाँटमा आफ्ना सबल र दुर्बल पक्ष औँल्याएको छ । महोत्तरीको जलेश्वरमा मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियारद्वारा प्रस्तुत संसदीय कामको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।

संसदीय फाँटमा पार्टी पाँच वटा क्षेत्रमा सबल रहेको प्रमुख सचेतक परियारको भनाइ छ । संसद्मा पार्टीका सांसदहरूको प्रस्तुति अध्ययन र अनुसन्धानमा आधारित रहेको उनले बताए ।

सांसदहरूले विषयवस्तुमाथिको गहिरो अध्ययन गर्ने गरेका छन् । सांसदहरूमा भाषाको पकड रहनुका साथै प्रविधिमैत्री पनि गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसका साथै संसदीय फाँटमा ६ वटा कमजोरी पनि देखिएको परियारले प्रतिवेदमा उल्लेख गरेका छन् । संसदीय दलको प्रतिवेदनमा पार्टीका सांसदहरू आत्म केन्द्रित र प्रचारमुखी भएको परियारले बताए ।

सांसदहरूबिच सामूहिक कार्यको अभाव, सांसदबीच अनावश्यक प्रतिस्पर्धा, व्यक्ति केन्द्रीत प्रस्तुति, प्रचारमुखी चरित्र राजनीतिक बुझाइमा कमी र वैचारिक अस्पष्टता देखिएको प्रतिवेदनमा लेखिएको छ । पार्टीका सांसदहरूले दलीय व्यवस्थामा दलको भूमिका बुझ्न नचाहेको उनको भनाइ छ । परियारको प्रतिवेदनमा सभापति रवि लामिछानेको नागरिकता प्रकरण र सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे पनि उल्लेख छ ।

राजनीतिक पार्टीहरूको घेराबन्दीका कारण सामान्य त्रुटि रहेको नागरिकता विषयलाई राजनीतिक रूपमा ठुलो मुद्दा बनाएर पार्टी सभापति र पार्टीमाथि आक्रमण गरिएको प्रतिवेदनमा उल्लेख छ।

उच्च राजनीतिक संस्कार प्रस्तुत गर्दै २०७९ पुस ११ गते सभापति रवि लामिछानेले आफू बहाल रहेको उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएको परियारको भनाइ छ ।

लामिछानेको सांसद पदसमेत खारेज पछि उत्पन्न सङ्कटमा पार्टी एक ढिक्का भएको उनको भनाइ छ ।

गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा प्रतिष्ठित अर्थशास्त्री डाक्टर स्वर्णिम वाग्लेको आगमनले पार्टीलाई थप उचाइमा पुर्‍याउन सकारात्मक भूमिका खेल्यो प्रतिवेदनमा लेखिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १२ : १० बजे