Logo

Breaking News 1

कोशी प्रदेशमा छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति


२५ कार्तिक २०८०, शनिबार  

69
Shares

विराटनगर। कोशी प्रदेशका सत्ता गठबन्धन दलहरूबिच छठपछि मात्रै सरकार विस्तार गर्ने सहमति भएको छ । सत्ता गठबन्धन दलहरू काँग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपाको पटक पटक बसेको छलफलले उक्त सहमति गरेको हो ।

स्रोतका अनुसार गठबन्धनबिच काँग्रेसले मुख्यमन्त्रीसहित ४, माओवादीले ३, नेकपा एसले र जसपाले १–१ मन्त्री पाउने गरी छलफल भएको छ । जसपाले भने यसअघि नै तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ । तर, जसपा सरकारमा आउने ठानेरै उसका लागि एउटा मन्त्रालय छुट्याउने गरी छलफल अगाडि बढेको हो ।

मुख्यमन्त्री केदार कार्कीले शुक्रबार पनि गठबन्धन दल माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईसँग छलफल गरेका थिए । मुख्यमन्त्री कार्कीले काँग्रेस दलका नेता उद्धव थापा र जसपाकी सांसद निर्मला लिम्बूसँग पनि बिहीबार छलफल गरेका थिए ।

सरकारले मङ्सिर १६ गतेसम्ममा ल्याइसक्नुपर्ने बजेट अध्यादेश प्रतिस्थापन विधेयकको विषयमा पनि बैठकमा छलफल भएको थियो । उक्त छलफलले निश्चित मापदण्ड बनाएर बजेट प्रतिस्थापन विधेयक तयार पार्ने सहमति पनि गरेको छ ।

यस्तै, प्रदेश सरकारका राजनीतिक नियुक्तिमा पनि सहमतिकै आधारमा गर्ने उनीहरूको सहमति छ ।

प्रदेशसभाको बुधबार बसेको बैठकले संसदीय समिति गठन गरिसकेको छ । यद्यपि समितिको सभापति चयन भने सहमतिकै आधारमा गर्ने भन्दै थाँती राखिएको छ ।

यस्तै, यसअघि मुख्यमन्त्री केदार कार्कीले प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्यलाई नियुक्त गरिसकेका छन् । आयोगको सदस्यमा अन्य पार्टीको कोटाबाट नियुक्त गर्न दलहरू सहमत छन् ।

उता, प्रदेश लोकसेवा आयोगमा नियुक्त पदाधिकारीको समयावधि पनि अब पुस मसान्तमा पुरा हुँदैछ । आयोगको अध्यक्ष र दुई जना सदस्यहरू रहेका छन् । ४ वर्षे कार्यकालका लागि उनीहरू २०७६ साल माघमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १२ : ५४ बजे