तनहुँ । तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो । पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताए । गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उनले बताए ।
गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेको उनले बताए । सबै वडामा भेटेरिनरी प्राविधिक नभएकाले कतिलाई लम्पी स्किन लाग्यो भन्ने तथ्याङ्क आफूहरुसँग नरहेको डा. शाहको भनाइ छ । उनका अनुसार लम्पी स्किनबाट सङ्क्रमित भएकालाई पशुको उपचार कार्य पनि जारी रहेको छ । खोप लगाउन भेटेरिनरी प्राविधिक अस्मिता विक, राजकुमार श्रेष्ठ, पूर्णकुमार श्रेष्ठ, अनिता शाही, सन्तुकला थापा, सुजन श्रेष्ठ, विवेक थापा मगर, विनोद थापा मगरलाई परिचालित गरिएको छ ।
त्यस्तै पशु सेवा शाखाबाट डा. शाहलाई व्यवस्थापन, उपचार तथा अनुगमनमा खटाइएको छ भने पशु स्वास्थ्य प्राविधिक मीरा शाह, नायब पशु सेवा प्राविधिक रचना घिमिरे र दिवस पौडेललाई क्रमशः वडा नम्बर ३ र ७ मा परिचालन गरिएको छ ।
प्रतिक्रिया