काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले रुपान्तरण अभियान शुरु गर्ने घोषणा गरेपछि कांग्रेसभित्र फेरी एकपटक तरंग आएको छ ।
सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाउँदै युवा नेताहरुले अभियानको घोषणा गरेको दाबी गरेका छन् । उनीहरुले सबै प्रदेशमा कार्यक्रम गर्ने समेत तय गरिसकेका छन् । रुपान्तरण अभियानको घोषणा गर्ने सबै नेताहरु संस्थापन इतरका रहेका कारण संस्थापन पक्ष भने अभियानलाई लिएर तर्सिएको देखिन्छ ।
केही समयअघि मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत अब अति भयो भन्दै विद्रोहको संकेत गरेका थिए । तर उनले त्यसपछि औपचारिक रुपमा केही धारणा सार्वजनिक गरेका छैनन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत धारणा सार्वजनिक गरेका छैनन् ।
तर पछिल्लो महाधिवेशनको रुपान्तरणको नारा दिएर चुनावमा सहभागी भएका महामन्त्रीहरुको एजेण्डा अनुमोदन भएको थियो । अहिले फेरी रुपान्तरणको नाममा आगामी महाधिवेशनको तयारी शुरु भएको आँकलन गरिएको छ ।
यो रुपान्तरण अभियानले कांग्रेसलाई कति मद्धत गर्छ त्यो भविष्यकै गर्भमा छ । तर पार्टी केन्द्रमा देखिएको गुटको राजनीति तलैसम्म पुग्ने भने करिब निश्चित छ ।
प्रतिक्रिया