काठमाडौं । नेपाल प्रहरीका आइजीपी बसन्त कुँवरको अमेरिका भ्रमण अन्तिम समयमा रोकिएको छ ।
सरकारले कुँवरलाई अमेरिकामा हुने लिडरसिप एक्सचेञ्ज कार्यक्रममा सहभागी हुन अनुमति समेत दिएको थियो । तर भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्वका विरुद्ध पक्राउ पुर्जी जारी भएका बेला अन्तिममा कुँवरको अमेरिका भ्रमण रोकिएको हो ।
कुँवरको भ्रमण स्थगित भएपछि कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली सोमबार अमेरिका प्रस्थान गरेको छ ।
बज्राचार्यसँगै कार्यक्रममा सहभागी हुने टोलीका अन्य सदस्यहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामी र प्रहरी उपरीक्षक सन्तोष खड्का रहेका छन् ।
उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी नायव महानिरीक्षक लगायत प्रहरी अधिकृतहरूले विदाइ गरेका छन् । वैशाख २७ देखि २९ गतेसम्म अमेरिकाको वासिङ्टन डिसी र न्यूयोर्कमा हुने कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार लगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण अनुभव आदानप्रदान हुने नेपाल प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया