काठमाडाैं । एसीसी प्रिमियर कपमा आज सोमबार भइरहेको नेपाल र युएईबीचको फाइनल खेल स्थगित भएको छ । बाँकी रहेको खेल भोली मंगलबार रिजर्भ डेमा हुनेछ । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल बर्षाका कारणले रोकिएको हो ।
मंगलबार आजकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ । आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ । एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।
समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ । एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।
आइतबार भएको तेस्रो स्थानको खेल बर्षाका कारण रद्द भएसँगै ओडिआई मान्यता प्राप्त राष्ट्रको आधारमा ओमान विजेता बन्यो । विजेता बनेसँगै ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ ।
प्रतिक्रिया