काठमाडाैं । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहर फाल्नेमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फाल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको हाे ।
सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नम्बर १ देखि ३२ वडामा वीरगञ्जस्थित पृथी तारा एमके इनरनेशनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौला गरी नियमित सरसफाइ गर्दै आएको छ ।
विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरको रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमूना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यतिबेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको छ । केही वर्षअघिसम्म अतिक्रमण र फोहरको चपेटामा परेको आदर्शनगर, घण्टाघर, विर्ता, माईस्थानलगायतका सडक सफा र सुन्दर भएका छन् ।
आर्थिक राजधानीको रुपमा चिनिएको वीरगञ्ज महानगरको पर्यटन प्रवद्र्धनका लागि नगरक्षेत्रको सरसफाइलाइ उच्च प्राथमिकतामा राखेर काम थालेको नगरप्रमुख राजेशमान सिंहले बताए ।
प्रतिक्रिया