काठमाडौं । सर्वोच्च अदालतले सिंहदरवार, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको आवास क्षेत्रको फोहोर तीन दिनभित्र उठाइसक्न काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ ।
न्यायाधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दै महानगरपालिकालाई फोहोर उठाउन भनेको हो ।
काठमाडौँ महानगरपालिकाले गत चैत २४ गतेदेखि फोहोर उठाउन छाडेको विषयमा अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए ।
‘संवैधानिक र कानुनी व्यवस्थाअनुसार फोहोर सङ्कलन गरी विसर्जन गर्नुपर्ने दायित्व स्थानीय तहलाई सुम्पेको देखिँदा स्थानीय तहको हैसियतमा सो दायित्व काठमाडौँ महानगरपालिकाको देखिन आयो’, सर्वोच्चको आदेशमा भनिएको छ, ‘तसर्थ रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोर यो आदेश प्राप्त भएको मितिले तीन दिनभित्र सङ्कलन गरी उठाइ विसर्जनसमेत अबिलम्ब गर्नु गराउनु भनी काठमाडौँ महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।’
प्रतिक्रिया