काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा व्यापक सुधार आएको छ ।
मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।
सांसद भण्डारीले नयाँ वर्षको शुभकामना दिँदै जारी गरेको भिडिओ सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’
भण्डारीले छिट्टै स्वदेश फर्किने भन्दै बाँकी उपचार नेपालमै गर्ने समेत बताएका छन् । ‘छिट्टै नै म तपाईंहरूसँग उपस्थित भएर, त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु,’ उनले भने, ‘नयाँ वर्षका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु ।’
बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा गत फागुन ३ गते गम्भीर घाइते भएका थिए।
कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सांसद भण्डारीकी आमा हरिकलाको फागुन ४ गते निधन भएको थियो । सांसद भण्डारीलाई फागुन ४ मा थप उपचारका लागि मुम्बई लगिएको थियो ।
प्रतिक्रिया