काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको पहिलो क्वार्टरफाइनलको पहिलो लेगमा बार्यन म्युनिखलाई हराउँदै म्यानचेष्टर सिटी सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । मंगलबार राति सिटीको घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा बार्यनलाई ३–० गोल अन्तरले हराउँदै लगातार तेस्रो सिजनको सेमिफाइनलमा पुग्नका लागि सम्भावना बलियो बनाएको हो ।
सिटीको जितमा रोड्रि, बर्नानडो सिल्भा र इर्लिङ हालाण्डले गोल गरे । खेलको २७ औँ मिनेटमा रोड्रिले च्याम्पियनस लिगमा आफ्नो पहिलो गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा २ गोल थप्यो ।
खेलको ७० औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । त्यसको ६ मिनेटपछि नै हालान्डले गोल गर्दै घरेलु टोलीलाई ३–० को आरामदायी अग्रता दिलाए ।
हलाण्डको सबै प्रतियोगितामा गरेर सिटीका लागि ४५ औँ गोल गरिसकेका छन् । यो सिजन उत्कृष्ट लयमा रहेका हालान्डले प्रिमियर लिगमा ३०, च्याम्पियन्स लिगमा ११, एफए कपमा ३ र काराबाओ कपमा एक गोल गरेका छन् ।
जितसँगै सिटीले दोस्रो लेगमा बराबरीको नतिजा ल्याए पुग्नेछ । उता पहिलो लेगको हारसगै बार्यनमथि दबाब बढेको छ । लिगको दोस्रो लेग आगामी बुधबार बार्यनको घरेलु मैदानमा हुनेछ ।
गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले बेन्फिकालाई २–० गोल अन्तरले हराएको छ ।
प्रतिक्रिया