Logo

कला/साहित्य

म नोकर हुँ ।



मालिकको सहश्र अनुहार थाहा छ मलाई
तर, एक रुपको मात्र पूजा गर्छु म,
आँखाले थुप्रै रङ मन पराउँछन्
तर, एउटा रङ मात्र चुन्छु म,
सम्पूर्ण सम्पत्ति मेराे हातमा छ
साँचो मात्र मालिकलाई सुम्पन्छु म,
किनकि, म नोकर हुँ ।

शरीर भित्रै वैंस कटेर गए
मालिक कै इशारामा रमेको छु म,
आफ्नै तस्बिर देखि डर लाग्छ बेलाबेला
तर मालिकको फोटो पूजा गरिरहन्छु म,
आज, आफ्नै बाटो बिर्से झै लाग्छ
अरु मान्छे देख्दा झस्किन्छु म,
मालिकको विश्वास छ मसँग
किनकि वफादार नोकर हुँ म ।

समय जाँदै छ, थाहै पाउँदिन
तर समयको पालना गरिरहन्छु म,
नतिजाको इसारा जस्तो सुकै होस
मालिकको आज्ञा मानिरहन्छु म,
अंधभक्त त हनुमान पनि थिए
तर विभीषणलाई मन पराउँछु म ,
आफ्नो सबै गुमाएर फगत रमाउँछु म ,
किनकि,म नाेकर हुँ ।

हासाे र रोदन थाहै हुँदैन
विभेद समेत मालिकलाई सुम्पेको छु,
बगैंचा त मालिक कै त हो नि
तर फूलमा रंग भर्न जानेको छु,
मैले रोजेका फूल मुर्झाएर गए
तर, मालीको काम मै रमेकाे छु,
मालिकमा नोकरको बिम्ब देखेर
सधै इमान्दार नोकर बनेको छु ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ८ : ०२ बजे