काठमाडौँ । द्वन्द्व पीडितले दायर गरेको माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा सुनुवाई सरेको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा उक्त रिट पेशी तोकिएको भएपनि श्रेष्ठको एकल इजलास नबस्दा सुनुवाई नभएको हो।
अब भोलि शुक्रबारका लागि पेशी तोकिएको छ। शुक्रबार पुनः इजलास गठन हुनेछ र न्यायाधीश अर्कै पर्न सक्ने सम्भावना हुनेछ। न्यायाधीश श्रेष्ठ अर्को संयुक्त इजलासमा पनि भएकाले त्यो इजलासमा मात्रै बिहीबार सुनुवाई गरेका हुन्। न्यायाधीश श्रेष्ठकै नेतृत्वमा अनिलकुमार सिन्हासँग अर्को संयुक्त इजलास थियो।
श्रेष्ठ र सिन्हाले उक्त इजलासमा रहेका अन्य रिटमा भने सुनुवाई गरेका छन्। प्रचण्डविरुद्ध द्वन्द्व पीडित ज्ञानेन्द्रराज आरनसहित र चिरञ्जिविवास गिरीसहितले छुट्टाछुट्टै रिट दायर गरेका छन्। सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट न्यायाधीशको आदेशले गत मंगलबार दर्ता भएको थियो। रिटमा प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको छ। प्रचण्डले २०७६ माघ १ मा ५ हजार व्यक्ति हत्याको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए। सोही आधारमा उनीविरुद्ध रिट परेको हो।
प्रतिक्रिया