Logo

खेलकुद

त्रिदेशीय शृंखलाका लागि सन्दीप यूएई प्रस्थान


१७ फाल्गुन २०७९, बुधबार  

0
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली टिमका स्पिनर सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि सन्दीप आज दिउँसो तीन बजे त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दूर्गाराज पाठकले बाह्रखरीलाई बताए । सन्दीपले टिममा श्याम (मौसम) ढकालको स्थान लिनेछन् ।

‘प्रशिक्षणका क्रममा मौसम समस्या देखिएपछि उनको स्थानमा सन्दीपले खेल्ने भएका हुन् । प्रतियोगिताका लागि सन्दीप आज तीन बजे यूएई प्रस्थान गरिसकेका छन् । टिम व्यवस्थापनले सन्दीप खेल्न योग्य रहेको बताएको थियो । उनले भोलि यूएईसँग हुने खेल खेल्नेछन्,’ पाठकले भने ।

नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप खेपिरहेका सन्दीपको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उच्च अदालत पाटनले सन्दीपलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडे पनि विदेश जान भने बन्देज लगाएको थियो । तर, त्यस निर्णयविरुद्ध सर्वोच्चमा पुगेका सन्दीपलाई सोमबार विदेश जान अनुमति दिइएको छ ।

नेपालले यूएईमा घरेलु टिम र पपुवा न्युगिनी (पीएनजी)सँग लिग–२ को त्रिदेशीय श्रृंखला खेलिरहेको छ । नेपालले सोमबार सम्पन्न श्रृंखलाको पहिलो खेलमा पीएनजीलाई चार विकेटले पराजित गरेको थियो । नेपालले बिहीबार यूएईसँग खेल्दैछ ।

सन्दीपलाई सोमबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै विदेश जान अनुमति दिएको हो । यसअघि, सन्दीपलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।

तर, जिल्लाको यो निर्णयविरुद्ध उच्च अदालत पुगेका सन्दीपलाई उच्चले भने विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । तर, उच्चले विदेश जान रोक लगाएपछि सन्दीप विदेश जान पाउनुपर्ने मागसहित सर्वोच्च पुगेका थिए । र, सर्वोच्चले उच्चको धरौटीमा छोड्ने आदेश सदर गरी लामिछानेलाई विदेशसमेत जान पाउने अनुमति दिएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ५ : २१ बजे