Logo

खेलकुद

विश्वकप क्रिकेट लिग(२ मा नेपालको लगातार पाँचौं जित, पिएनजी ४ विकेटले पराजित


१५ फाल्गुन २०७९, सोमबार  

0
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले लगातार पाँच खेलमा जित निकालेको छ। लगातार पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित निकाल्दै कीर्तिमान बनाउने क्रममा नेपालले सोमबार पपुवा न्युगिनी (पिएनजी) लाई ४ विकेटले पराजित गर्‍यो।

यसअघि नेपालले फागुन पहिलो साता घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियाविरुद्ध खेलेका चारै खेलमा लगातार जित निकालेको थियो। सोमबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पिएनजीमाथि जित निकाल्ने क्रममा नेपालले २०४ रनको लक्ष्य ६ विकेट गुमाएर ४५.२ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ५६ रन जोड्ने क्रममा ६९ बलमा ५ चौका हिर्काए। अर्का ओपनर आसिफ शेख ३९ बलमा ४४ रन बनाएर खेलिरहदा रनआउटको सिकार बनेका थिए। आसिफ र कुशलबीच पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारी भएको थियो।

ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेलले २१ बलमा २० रन जोडे। आरिफ शेखले ६२ बलमा जोडेको ३३ रन महत्वपूर्ण सावित बन्यो। आरिफले १ चौका र १ छक्का हिर्काए। दिपेन्द्रसिंह ऐरीलाई २२ रन बनाउँदा सेसे बाउले बोल्ड गरेका थिए। कुशल मल्लले नटआउट १२ रन र सोमपाल कामीले नटआउट ५ रन जोडे। बलिङमा पिएनजीका असद भालाले ३ विकेट लिए। त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजीले ५० ओभरमा ९ विकेटको क्षतिमा २०३ रन जोड्यो। पिएनजीका लागि चाड सोपरले नटआउट ३६ रन जोडे। उनले ५३ बलमा २ चौका प्रहार गरे। कप्तान असद भालाले ५३ बल खेलेर ३६ रन जोडे। ४ चौका प्रहार गरेका उनलाई कुशल मल्लले आउट गरेका थिए।

विकेटकिपर ब्याट्सम्यान किपलिन डोरिगाले २९ रन र सेसे बाउले ३१ रन बनाए। १५ बलमा समान २(२ चौका र छक्का प्रहार गरेका नोर्मान भानुआले २५ रन बनाए। ४९ ओभरको सुरुवाती दुई बलमा छक्का र चौका हिर्काएका उनलाई कुशल मल्लले दिपेन्द्रसिंह ऐरीबाट क्याच गराए। बलिङमा नेपालका गुल्शन झाले ३ विकेट लिए। उनले ९ ओभरमा २८ रन खर्चिए। कुशल मल्लले २ विकेट लिँदा डेब्यू खेलाडी प्रतिश जिसीले १ विकेट हात पारे। करण केसी र सोमपाल कामीले १-१ विकेट लिन सफल भए।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ९ : ३९ बजे