Logo

समाचार

नेविसंघ महोत्तरीको विवाद चुलिँदै


११ फाल्गुन २०७९, बिहिबार  

0
Shares

महोत्तरी । नेपाल विद्यार्थी संघ (नेविसंघ) महोत्तरीको विवाद चुलिन थालेको छ । छलफल नै नगरी जिल्लाका नेताहरुले अध्यक्षका लागि सुनिल सुमनको नाम केन्द्रमा पठाएपछि विवाद चुलिन थालेको हो । केन्द्रबाट  जिल्ला अध्यक्षका लागि तीन जनाको नाम पठाउन पत्राचार गरे पनि जिल्लाका नेताहरुले सुमनको नाम मात्र पठाएपछि विवाद बढेको हो ।

यस विषयमा बुधबार नै २३ जना विद्यार्थी नेताले सामूहिक रुपमा विज्ञप्ति निकालेर विरोध जनाइसकेका छन् । नेविसंघको लोकतान्त्रिक इतिहास र गरिमा नै चोट पुगेको उनीहरुको भनाइ छ । नेविसंघका केन्द्रीय सदस्य विजय रायसहितले निकालेको विज्ञप्तिमा आफुखुसी मनोमानी वा केही सीमित व्यक्ति र स्वार्थको समूहको प्रभावमा परेर सुमनको मात्र एकल नाम पठाउने निर्णय तत्काल सच्याउन माग गरिएको छ । साथै उनीहरुले विद्यार्थीहरुको भेला बोलाउन पनि माग गरेका छन् ।

स्ववियु निर्वाचन नजिकिँदै गर्दा नेविसंघको आन्तरिक विवादले जिल्लाका दुईवटा क्याम्पसमा हुने आसन्न  निर्वाचनलाई समेत असर पर्ने देखिएको छ ।
केन्द्रले तोकेको अध्यक्ष सुमनलाई विद्यार्थी नेताहरुले स्वीकार गर्न नसक्दा क्याम्पसका एकाइ कमिटी समेत प्रभावित हुने अवस्था सिर्जना भएको हो  । क्याम्पसका एकाइ सभापतिहरुले समेत सुमनको संयोजकत्वको सम्बन्धमा आपत्ती जनाएका छन् ।

विद्यार्थीको असन्तुष्टिलाई माउ पार्टी कांग्रेससका  केही नेताहरुले समेत समर्थन जनाएका छन् । कांग्रेस महोत्तरीका पूर्वसचिव बजरंग नेपालीले विद्यार्थी नेताहरुको असन्तुष्टि जायज रहेको वताए । तर, केन्द्रमा नाम पठाउने जिम्मेवारी पाएका जिल्ला सभापति नागेश्वर यादवले भने सुनिल सुमनको नाम विधिवत् रुपमा पठाएको दाबी गरे । ‘हामीले छलफल गरेर नै सुमनको नाम पठाएका हौँ । अब उहाँहरुले किन असन्तुष्टि जनाउनु भयो, मलाई थाहा छैन,’ उनले भने ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  २ : ४६ बजे