काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारले सवारी व्यवस्थापनबारे उपयुक्त पाइला नचाल्दा राष्ट्रपतिलाई विवादमा ल्याउने काम भइरहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले सवारीले हुने गरेको जाम र त्यसको व्यवस्थापनप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए ।
‘मेरो सवारी कसरी चलाउने भनेर त राष्ट्रपतिको भूमिका हुँदैन । सम्पूर्ण जिम्मा त सरकारको सुरक्षा संयन्त्रले गर्छ । यसो गर्दा सुरक्षा संयन्त्र जहिले पनि आफू सेफ हुने गर्छ,’ उनले भने । राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको तहबाट यसको समाधान हुनुपर्ने उनको भनाइ छ । गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सम्बोधन गर्ने कार्यक्रमका कारण आफू पनि एक घण्टा जाममा परेको उनले सुनाए ।
गालीगलौजको वातावरण उत्पन्न भएपछि मोटरसाइकलमा बस्दा आफूले सांसदको लोगो छोप्नुपरेको गुनासो समेत उनले गरे । ‘मैले लोगो छोप्नुपर्यो । म चढेको ‘बाइक अघि बढाऊ’ भनेर मुखमा मास्क लगाउनुपर्यो । किनभने, सांसदलाई पनि गाली गर्न थाले,’ पन्तले भने । उनले प्रणालीको समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए । ‘यो प्रणालीको समयानुकूल परिमार्जन जरुरी छ । गर्ने भनेको सरकारले हो । सरकारले नगर्ने अनि राष्ट्रपतिले किन गाली खाने ? राष्ट्रपतिजस्तो संस्था किन विवादमा पर्ने ? ,’ पन्तले भने, ‘त्यसैले अविलम्ब यस विषयमा प्रधानमन्त्रीको ध्यानकर्षण गराउँछु । औपचारिक सवारीमा जाँदा सहज, सजिलो र जनतालाई अप्ठ्यारो नपर्ने गरी गर्ने हो, सरकारको दायित्व हो ।’
प्रतिक्रिया