Logo

समाचार

न्यादीमा क्षमताअनुसारको विद्युत् उत्पादन भएन



लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न भई उत्पादन थालेको न्यादी जलविद्युत आयोजनाले हिँउद लागेसँगै खोलामा पर्याप्त पानी नहुँदा क्षमताअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन । ३० मेगावाट क्षमताको सो जलविद्युत आयोजनामा माघ लागेसँगै १० देखि १२ मेगावाट मात्रै विद्युत उत्पादन हुँदै आएको आयोजनाका बासु गर्तौलाले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले पूरै क्षमतामा विद्युत् उत्पादन गर्न आग्रह गरे पनि खोलामा पानी नहुँदा क्षमताअनुसारको विद्युत् उत्पादन गर्न नसकिएको गर्तौलाको भनाइ छ । दुईवटा टर्वाइन रहेको सो आयोजनामा हाल पानीको उपलब्धताअनुसार पालैपालो एउटा टर्वाइनबाट मात्रै विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

अब विस्तारी गर्मी बढेकाले हिउँ पग्लने र खोलामा पानीको मात्रा बढ्यो भने विद्युत उत्पादन पनि बढ्नसक्ने अनुमान गरीएको छ । आयोजनामा अघिल्लो महिना पनि अहिलेको भन्दा कम मात्रामा विद्युत उत्पादन भएको थियो । अघिल्लो महिना अहिलेको भन्दा थप मात्रामा विद्युत् उत्पादन गर्न सकिने अवस्था भए पनि विद्युत् प्राधिकरणले उत्पादित विद्युत् खरिद नगरेपछि आयोजनामा कम विद्युत उत्पादन हुँदै आएको थियो । मस्र्याङदी गाउँपालिका–६, स्थित ङाँदी खोलमा निर्माण सम्पन्न न्यादी जलविद्युत आयोजनाले गत वैशाख महिनादेखि नै व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको हो ।

गत वर्षको पुस महिनामा आयोजना निर्माण सम्पन्न भई वैशाखदेखि उत्पादन गरेको थियो । पुस महिनामै आयोजना निर्माण सम्पन्न भएपनि प्रसारण लाइन नहुँदा विद्युत् उत्पादन हुन रोकिएको थियो । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) भएको थियो । हाल र आगामी आर्थिक वर्षका लागि सोही रकम कायम भएको र अर्को आर्थिक वर्षदेखि मूल्य परिवर्तन हुने आयोजनाले जनाएको छ ।

चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ११ : ०३ बजे