Logo

मुख्य समाचार

उचित मूल्य नपाएको विरोधमा कुखुरासहित सडकमा किसानको प्रदर्शन



बिर्तामोड । उचित मूल्य नपाएको भन्दै झापाका किसानले उत्पादित कुखुरासहित सडकमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सडकमा अण्डा फालेरसमेत विरोध जनाएका छन् । किसानले उत्पादन गरेको कुखुरा र अण्डा बिचौलियाका कारण बिक्री नभएको उनीहरुको आरोप छ । मूल्य र बजार नपाएको भन्दै मंगलबार झापाको बिर्तामोडस्थित विरोध जनाउँदै किसान । जिल्लाभरका अण्डा उत्पादक, कुखुरा पालक, बाख्रा पालकसहितका किसान आन्दोलित भएका हुन् । उनीहरूले मंगलबार दिउँसो बिर्तामोडको मुक्तिचोकमा नाराबाजी गर्दै विरोध जनाएका हुन् । उनीहरू करिब ४ सय कुखुरा र २० कार्टुन अण्डासहित प्रर्दशनमा उत्रिएका थिए । झापामा दैनिक एक हजार ५ सय कार्टुन अण्डा उत्पादन हुन्छ । तर, खपत जिल्लामा मात्र दैनिक ३ हजार कार्टुनभन्दा बढी रहेको मेचीनगर नगरपालिका २ का किसान चुडामणि (सीएम) मगरले जानकारी दिए ।

‘बजारको मागभन्दा आधा पनि उत्पादन छैन । तर पनि हाम्रो उत्पादन बिक्री हुँदैन,’ मगरले भने,‘त्यसमा पनि बिचौलियाका कारण हामीले उचित मूल्य पाउन सकेका छैनौं ।’ उनका अनुसार बजारमा उपभोक्ताले अण्डा प्रतिगोटा १५ रुपैयाँमा खरिद गर्नुपर्छ । किसानले भने प्रतिगोटा ८ रुपैयाँका दरले मात्र बिक्री गर्ने गरेको उनले बताए ।‘दानाको भाउ बढेर खप्नै नसक्ने अवस्थामा पुगेका छौं,’ दमकका किसान देवेन्द्र प्रसाईंले भने,‘एक वर्षअघि २७ सयमा पाउने एक बोरा दानाको दाम अहिले ३६ सय पुगेको छ । तर, हाम्रो अण्डाको मूल्य एक वर्षअघि पनि २८ सय रुपैयाँ प्रतिकार्टुन थियो । अहिले पनि त्यही मूल्य छ ।’

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ५ : १३ बजे