काठमाडौं । लामो समयदेखि जटिल प्रकृतिको वंशाणुगत जन्डिस देखिएका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ ।
गत शनिबार सुमेरु सिटी अस्पतालमा भर्ना भएका पुनको केही साताभित्रै कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको पाटन अस्पतालका स्वास्थ्य निर्देशक तथा वरिष्ठ पेटरोग विशेषज्ञ प्रा।डा। युवराज शर्माले जानकारी दिए ।
लामो समयदेखि वंशाणुगत जन्डिस (सिग्गलर नाजार टाइप टू सिन्ड्रोम ) देखिएका पुनकोे कलेजोले ८० प्रतिशतभन्दा बिग्रिसकेको र अबको उपचार प्रत्यारोपण नै भएको डा. शर्माले जानकारी दिए । ‘अबको केही सातामा नै उहाँको कलेजो प्रत्यारोपणको तयारी गरिरहेका छौँ । पहिले जहाँ उपचार भएको हो त्यहीँबाट गर्ने तयारी छ’ डा. शर्माले बाह्रखरीसँग भने । पुनको यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो ।
गृहजिल्ला रोल्पामा रहेका पुनलाई शनिवार स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरु सिटी अस्पताल भर्ना गरिएको थियो । डा. शर्माकाअनुसार पछिल्लो दुई महिनायता पुनको पेटमा पानी जम्ने समस्या देखिँदै आएको थियो भने ८० प्रतिशत कलेजोले काम गर्न नसक्ने अवस्थामा पुगेको छ ।
प्रतिक्रिया