Logo

स्वास्थ्य

कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित



खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा कोभिड अस्पतालले निरन्तरता पाउँदा स्थानीय लाभान्वित भएका छन् । कोभिड–१९ को महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिइएपछि गाउँपालिकाका सर्वसाधारण लाभान्वित भएका हुन् । कुभिन्डेको हरमटारमा एक जना एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवाले निरन्तरता पाएपछि पालिकाबासी सामान्य तथा जटिल किसिमका स्वास्थ्य समस्या भएको बेला जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने वाध्यताबाट मुक्त छन् ।

अस्पतालबाट चौविस घण्टा इमरजेन्सी, ओपिडि, प्रसुती, भिडियो एक्स–रे, इसिजी लगायतका स्वास्थ्य सेवा उपलव्ध गराइएको छ । गाउँपालिकाको कुभिन्डे, हौंचुर, दुबेकोल, डुम्रेधारापानी लगायतका वडाका स्थानीयले अस्पतालबाट नियमित तथा आकस्मिक स्वास्थ्य सेवा लिइरहेका छन् । अस्पतालमा दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेको डा. मनोजकुमार शाहले बताए ।

कोभिड–१९ को महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ सालमा कर्मचारी आवास भवनमा अस्थायी कोभिड अस्पताल स्थापना गरिएको थियो । कोरोना महामारीको संक्रमण सामान्य भएसँगै सवैजसो अस्थायी कोभिड अस्पताल बन्द गरिए पनि रावाबेँसी गाउँपालिकाले भने पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिएको हो । गाउँपालिकाको केन्द्रमा रहेको अस्पतालबाट गर्भवतीको भिडियो एक्स–रे र रगत जाँच निःशुल्क उपलव्ध गराउने गरिएको छ । ज्येष्ठ नागरिकलाई पनि भिडियो एक्स–रे सेवामा छुटको व्यवस्था छ । अस्पतालको फार्मेसीबाट अधिकतम औषधि निःशुल्क उपलव्ध गराइएको छ । अस्पतालका लागि एक थान एक्सरे मेसिन समेत ल्याइसकिएको छ ।

आसपासका स्वास्थ्यचौकीबाट रेफर भएका बिरामी सोही अस्पतालमा आउने गरेका छन् । अप्रेसन गर्नुपर्ने जटिल किसिमका बिरामीलाई जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने गरिएको डा। शाहले बताए । स्वास्थ्यउपचारका लागि अन्यत्र जान नसक्ने निम्न आर्थिक अवस्थाका नागरिकलाई लक्ष्यित गर्दै कोभिड अस्पताललाई पाँच शैयाको अस्पतालका रुपमा निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

कोभिडको महामारीका समयमा पनि अस्पतालमा कोभिड संक्रमितभन्दा पनि अन्य विरामीले बढी सेवा लिएका थिए । अस्पतालका लागि डा। शाह, ल्याव टेक्नेसियन उमेशकुमार शाह, स्टाफ नर्स सिर्जना तामाङ र कार्यालय सहयोगी सुरेन्द्र भुजेललाई गाउँपालिकाले आन्तरिक श्रोतबाट सेवा सुविधाको व्यवस्था गरेको छ । दरबन्दीमै कार्यरत एचए भोजराज अधिकारी र अनमी बिनाकुमारी शाहलाई काजमा अस्पतालमा खटाइएको छ ।

गाउँपालिकाका लागि खार्पामा १५ शैयाको अस्पताल बनिरहेको छ । १५ शैयाको अस्पताल बनेसम्मका लागि पाँच शैयाको अस्पताल सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : १३ बजे