Logo

समाचार

विमान दुर्घटनाले मनलाई भित्रैबाट हल्लायो, अब दीर्घकालीन समाधान खोज्नैपर्छ: गगन थापा



काठमाडौं । सांसदसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हवाई र सडक यातायातलाई सुधार्न आफू दृढ भएर लाग्ने बताएका छन् । आइतबार भएको पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै थापाले यसपटकको घटनाले मनलाई भित्रैबाट हल्लाएको पनि बताएका छन् । साथै उनले यस्ता दुर्घटनाको अंशियार आफूसहित नियामक र नीति निर्माण तहमा रहेकाहरू रहेकोसमेत बताएका छन् ।

सोमबार राति फेसबुकमा थापाले लेखेका छन्, नेपालमा हवाई दुर्घटना, सडक दुर्घटनाहरू हाम्रो नियतिजस्तै भैसकेका छन् । हरेकपटक दुर्घटना भएको केही दिनसम्म त्यसबारे चर्चा र चिन्ता हुन्छ, छानबिन समिति पनि बन्छ तर कार्यान्वयन हुँदैन । केही समयपछि हामी घटनालाई बिर्सिन्छौँ । कार्यान्वयन तहदेखि, नियामक र नीति निर्माण तहसम्म कहीँ न कहीँ हामी यो प्रवृत्तिको अंशियार भएका छौँ ।

उनले बहसमा रहेको सार्वजनिक यातायात सुरक्षाको विषयको दीर्घकालीन समाधान खोज्नुपर्ने पनि बताएका छन् । यसपटकको कहालीलाग्दो दुर्घटनाले मनलाई भित्रैबाट हल्लाएको छ । दृढ संकल्पित छु, यो विषयको दीर्घकालीन समाधान नखोजी यत्तिकै सेलाउने नियति दोहोरिन दिनुहुन्न । यात्रुको सुरक्षा र दुर्घटना न्यूनीकरणको बारेमा सांसदका रूपमा गर्नु पर्ने काममा निरन्तर लागि रहनेछु,थापाले भनेका छन् ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ३२ बजे