Logo

कोशी

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिदै



विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । ४ दलको समर्थनमा गत पुस २४ गते नेकपा एमालेका संसदीय दल नेतासमेत रहेका कार्की प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका थिए ।

नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेश सभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजानत्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) ले उनलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना संसद चाहिन्छ । कार्की ६० जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका हुन् । उनलाई एमालेका ४०, माओवादीका १३ राप्रपाका ६ र जसपाका १ जना सांसदको समर्थन रहेको छ ।

प्रदेशसभाको प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले भने उनलाई विश्वासको मत नदिने भएका छन् । प्रदेशसभामा कांग्रेसका २९ र नेकपा एसका ४ संसद छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ०९ बजे