Logo

मुख्य समाचार

सरकारमा नजाने शर्तमा मात्रै जसपासँग एकता: माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पार्टी सरकारमा नजाने अवस्थामा मात्रै दुई दलबीच एकता हुने बताएका छन्। अध्यक्ष नेपाल भने रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्न जसपा तयार भए दुई दलबीच एकताका लागि कुनै समस्या नहुने स्पष्ट पारेका छन्।

‘जसपा केन्द्र र प्रदेशमा सरकारमा जान खोजिरहेको छ। हामी रचनात्मक प्रतिपक्षमा बस्ने भनिरहेका छौँ। अन्य मुद्दामा केही समस्या छैन। सरकारको सहभागिताको सवालमा पछि हटे एकताका लागि कुनै समस्या छैन,’ नेपालले भने।

एकीकृत समाजवादीले जसपासँग एकताका लागि कार्यदलनै गठन गरेको छ। समाजवादीले महासचिव वेदुराम भुसालको संयोजकत्वमा विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला सम्मिलित कार्यदल बनाएको छ।
समाजवादीसँगको एकताका विषयमा छलफलमा लागि जसपाले पनि राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी सहभागी कार्यदल बनाएको छ।
दुई कार्यदलले एकताका लागि छिट्टै छलफलको तयारी गरेको कार्यदलका सदस्य प्रकाश ज्वालाले बताएका छन्।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  १ : २२ बजे