Logo

कोशी

प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदै



विराटनगर । प्रदेश १ को सभामुखको निर्वाचन आज हुँदैछ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी छ । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् । प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्दैछ । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । ५० वर्षीय गौतम माओवादी जनयुद्ध लडेर आएका व्यक्ति हुन् । उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।

सभामुख माओवादी केन्द्रको भागमा परेको छ । सभामुख पुरुष भएका कारण उपसभामुख नेकपा एमालेले महिलालाई बनाउनेछ । एमालेबाट उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा उपसभामुखको दाबेदार छन् ।

उपसभामुखको निर्वाचनका लागि मनोनयन आज हुनेछ । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेछन् । शनिबार उपसभामुखको निर्वाचन पछि प्रदेश सभा बैठक केही दिनका लागि स्थगित गर्ने तयारी छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ९ : ३२ बजे