काठमाडौं । अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरु भएको छ । संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरु भएको जानकारी दिएको हो । उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि हिजो अमेरिका सबै आन्तरिक उडान ठप्प भएका थिए । त्यो प्रणाली विमान चालकलाई सुरक्षा प्रदान गर्ने विषयसँग सम्बन्धित थियो ।
अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको छ, ‘अहिले विस्तारै विस्तारै सेवा सुरु भइसकेको छ । उडानमा लगाइएको रोक हटिसकेको छ । फ्लाइट क्रूलाई सुरक्षा बारे सूचना दिने नोटिस टु एयर मिसन प्रणालीमा राति खराबी आएको थियो । समस्याको कारण पत्ता लगाउन जाँच चलिरहेको छ ।’
‘नोटिस टु एयर मिसन’ त्यो प्रणाली हो, जसले कुनै रुटमा कुनै प्रकारको खतराको संकेत देखिए पाइलटलाई पूर्वजानकारी गराउँछ ।
त्यसमा समस्या आउँदा सुरुमा साइबर हमला भएको हो कि भन्ने आशंका गरिएको थियो । तर ह्वाइट हाउसले त्यो आशंकालाई खारेज गरेको छ । राष्ट्रपति जो बाइडनले पत्रकारहरुसँग कुरा गर्दै समस्या आउनुको कारण पत्ता लागिनसकेको बताएका छन् ।
प्रतिक्रिया