Logo

मुख्य समाचार

आज पृथ्वीजयन्ती, देशभर सार्वजनिक बिदा



काठमाडौं । हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । यस वर्ष पृथ्वीनारायणको ३०१औँ जन्मजयन्ती मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तानका रूपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएको थियो ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट जितेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाभएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१औँ जन्मजयन्ती मनाइँदै छ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

गृह मन्त्रालयले मंगलबारै सूचना जारी गरी आज बुधबार सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

यही पुस २५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबमोजिम आज सार्वजनिक बिदा दिइएको हो ।

पृथ्वी जयन्तीका अवसरमा आज नेपाल राज्यभरका साथै विदेशस्थित नेपाली राजदूतावास र कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ८ : ३१ बजे