Logo

खेलकुद

‘स्पट फिक्सिङ’को आशंका, शंकाको घेरामा पूर्वराष्ट्रिय क्रिकेटर



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको नेपाल टी–२० लिगमा ‘फिक्सिङ’, ‘स्पट फिक्सिङ’को आरोप लागेपछि विभिन्न निकायको अनुसन्धान जारी छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीलगायत निकायले अनुसन्धान सुरु गरेका छन् ।

सुरुमा कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै लिगमा आफूले स्पट फिक्सिङको अनुभव गरेको बताएका थिए । र, प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका थिए ।

त्यसपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरे । ज्ञानेन्द्रले खेलाडी र प्रस्तावक को थिए भन्नेबारे खुलाएनन् । यसबारे आफूहरूले एन्टी करप्सन युनिट (एसीयू)मा उजुरी गरिसकेको बताएका थिए ।

ज्ञानेन्द्रले नै खेलाडीलाई फिक्सिङको प्रस्ताव गरेको खुलाएपछि सरोकारवाला विभिन्न निकायको चासो बढ्यो ।

सीआईबी प्रमुख रहेका एआईजी उत्तमराज सुवेदीका अनुसार विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । ‘अहिले नै निष्कर्षमा पुगिसकेका छैनौँ । प्रतियोगिता जारी छ, सूक्ष्म रूपमा हामीले अनुसन्धान अगाडि बढाएका छौँ,’ उनले भने, ‘टोली निरन्तर अनुसन्धानमा केन्द्रित छ ।’ प्रहरी अधिकारीहरूका अनुसार अहिलेसम्म फिक्सिङ र स्पट फिक्सिङको कुनै प्रमाण फेला परेको छैन । म्याच फिक्सिङ नभई स्पट फिक्सिङ भने भएको हुन सक्ने सम्भावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

सीआईबीका एक अधिकारीले भने, ‘म्याच फिक्सिङमा पूरै टिम नभए महत्त्वपूर्ण पाँच/सातजना खेलाडीको संलग्नता हुनुपर्छ । जुन कठिन कुरा हो । तर, स्पट फिक्सिङ एकैजनाबाट पनि हुनसक्छ । क्याच छाड्ने, नो बल दिने, वाइड फाल्नेलगायत कुरा स्पट फिक्सिङमा हुन्छन् । हाम्रो ध्यान पनि स्पट फिक्सिङमै केन्द्रित छ ।’

एक प्रहरी अधिकारीका अनुसार एक पूर्वराष्ट्रिय क्रिकेट खेलाडी स्पट फिक्सिङको आशंकाको घेरामा छन् । उनी हाल भारतमा रहेको बताइन्छ । खेलाडीको नाम भने ती अधिकारीले बताउन चाहेनन् । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार शंका लागेका केही व्यक्तिलाई प्रतियोगितालगत्तै नियन्त्रणमा लिएर अनुसन्धान गरिने सम्भावना छ । अहिले नै नियन्त्रणमा लिँदा प्रतियोगितामा असर पर्ने भएकाले सीआईबी प्रमाण जुटाउन केन्द्रित छ । यही पुस ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस २७ गते हुने तालिका छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  २ : २४ बजे