Logo

खेलकुद

सेभेन थ्रीले क्यानलाई बिहीबार एक करोड पठायो, सम्झौता पालना नभए रद्द गर्ने क्यानको भनाइ



काठमाडौं । नेपाल टी-२० लिगको आयोजनाको अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले सम्झौता पूर्ण पालना नगरे रद्द गर्ने नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष चन्दले सेभेन थ्रीका प्रमुख जतिन अहुवालिया पैसा लिनका लागि भारत पुगेको बताए। साथै सम्झौताअनुसार क्यानलाई उपलब्ध गराउने पर्ने रकम उपलब्ध गराउन नसकेको अवस्थामा आगामी सिजनबाट सम्झौता निरन्तर नहुने उनको भनाइ छ।

सेभेन थ्री स्पोर्टसका प्रमुख अहुवालिया नेपालमा प्रतियोगिता जारी रहदा सुरक्षा चुनौती भएको भन्दै सोमबार भारत गएका थिए।

क्यानले नेपाल टी–२० लिग सञ्चालनको विषय साधारण सभाबाट पारित गरी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेको भन्दै अध्यक्ष चन्दले प्रतियोगिता पूरा हुने समेत बताए।
क्यानले आठ वर्षका लागि ३३ करोड रुपैयाँ पाउने गरी सेभेन थ्रीसँग प्रतियोगिता आयोजनाका लागि सम्झौता गरेको थियो। पहिलो सिजनमा ३ करोड ९० लाख रुपैयाँ पाउनु पर्नेमा क्यानलाई सेभेन थ्रीले अहिलेसम्म १ करोड २० लाख रुपैयाँ मात्र दिएको छ।

बिहीबार थप एक करोड रुपैयाँ पठाएको अध्यक्ष चन्दले बताए। सम्झौताअनुसारको बाँकी रकम पनि ल्याउने अध्यक्ष चन्दले बताए।

अध्यक्ष चन्दले फ्रेन्चाइज टिमका खेलाडीको पारिश्रमिकको विषय पनि अन्तिम चरणमा पुगेको बताए। चन्दले केही टिमका खेलाडीको पारिश्रमिक मालिकहरुले उपलब्ध गराएको र केही टिमको पारिश्रमिक प्रतियोगिताको अवधिभर उपलब्ध गराउन पहल गर्ने बताए।

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : ५४ बजे