Logo

खेलकुद

अकस्मात्आईसीसी टोली काठमाडौंमा



काठमाडौँ । खेलाडी तथा अफिसियलले पारिश्रमिक नपाएको तथा म्याच फिक्सिङ, स्पट फिक्सिङ र बेटिङका कारण नेपाल टी–२० लिग क्रिकेट बदनाम भइरहेको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को दुई सदस्यीय टोली बिहीबार अकस्मात् काठमाडौं आएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का इन्ट्रिग्रेटी युनिटका एन्ड्रयु इफग्रेभ र अर्का एक सदस्य बिहीबार राष्ट्रिय खेलकुद परिषद्मा सदस्य–सचिव टंकलाल घिसिङसँग भेट गरे लगत्तै उनीहरूले सरोकारवाला पक्षहरूसँग परामर्श थालेका छन् । आईसीसी इन्ट्रिग्रेटी युनिटका एन्ड्रयु इफग्रेभको नेतृत्वमा आएको दुई सदस्यीय टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको नेपाल टी–२० लिगको बिहीबारको खेल अवलोकन गर्दै त्यहाँको वस्तुस्थितिबारेमा बुझेको थियो । नेपाली टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले मंगलबार खुला रूपमा नै ‘स्पट बेटिङ’ भएको दाबी गर्दै आफू कमेन्ट्री टोलीबाट अलग भएको जनाएका थिए । काठमाडौं नाइट्सको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेको खुलासा गरेको पृष्ठभूमिमा आईसीसीको छानबिन टोली काठमाडौं आएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) सँग साझेदार बनेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स प्रतियोगिताको बीचमै फरार भएपछि खेलाडी तथा अम्पायरको पारिश्रमिकलाई लिएर अन्योल छाएको छ । क्यान स्वयंले सेभेन थ्री स्पोर्टसबाट पाउनुपर्ने ३ करोड ९० लाख रकममध्ये ३० प्रतिशतमात्र पाएको छ ।

गृह मन्त्रालयले नेपाल टी–२० लिगको पारिश्रमिक नदिई आयोजकको एउटा पक्ष फरार भएको, बेटिङका जालो बनाएको विषयमा अनुसन्धान गर्न मंगलबार नै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि अनुसन्धान सुरु गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि राष्ट्रिय खेलकुद परिषदको स्वीकृतिबिनै प्रतियोगिता गराइएको र विदेशी खेलाडीले श्रम स्वीकृतिविनै खेलेको विषयमा राय उपलब्ध गराउन राखेपलाई पत्र काटेको छ ।

नेपाल टी–२० लिगका सम्बन्धमा आईसीसी प्रतिनिधिमण्डलसँग छलफल भएको राखेप सदस्य–सचिव घिसिङले बताए । ‘श्रम स्वीकृतिका लागि क्यानको टोली राखेपमा आएको थियो, तर राखेपले त्यो प्रक्रिया अगाडि बढाएन,’ घिसिङले भने, ‘सार्वजनिक खरिद ऐनको विषय, विदेशी साझेदार कस्ता छन् भन्दै राखेपले क्यानसँग कागजात मागेको थियो । त्यसलाई क्यानले बेवास्ता गर्‍यो । यही विषय हामीले आईसीसीका प्रतिनिधिलाई जानकारी गराएका छौं । कुनै पनि क्रिकेट पदाधिकारीका कारण सिंगो नेपाली क्रिकेट पीडित हुनुहुँदैन । नेपाली क्रिकेट यसको भागिदार हुन सक्दैन भनेर उनीहरूलाई भनेका छौं ।’

राखेपले आफ्ना बोर्ड सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा नेपाल टी–२० लिग काण्डको छानबिनका लागि कार्यदल बनाइसकेको र त्यसको पहिलो बैठक बिहीबार बसिसकेको बारे घिसिङले आईसीसी टोलीलाई जानकारी गराएका छन् । उनले विगतमा पनि आईसीसीले क्यानमाथि आर्थिक निलम्बन र प्रतिबन्ध लगाएका कारण नेपाली क्रिकेटले ठूलो क्षति बेहोनुपरेको विषय पनि स्मरण गराएको घिसिङले बताए ।

 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १२ : ५२ बजे